बहस कति समय गर्ने भन्नेमा न्यायाधीश र वकिलबीच फेरि सवालजवाफ

काठमाडौँ सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस कति समय गर्ने भन्नेमा न्यायाधीश र वकिलबीच फेरि सवालजवाफ भएको छ ।

वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले ५ घण्टा समय मागे। तर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले भने एक घण्टाभन्दा हुँदै हुन्न भनेर रुलिङ गरेका छन् । एकातिर अदालतले निर्णय दिन ढिलाइ गरेको भन्ने, अर्कोतिर इजलासमा शक्ति प्रदर्शन गर्ने र लामोलामो बहस गर्ने प्रवृत्तिका कारण प्रधानन्यायाधीश राणा असन्तुष्ट छन् ।

प्रतिनिधि सभा विघटनको मुद्दा सुनुवाइका लागि हरेक दिन अरू सबै काम छाडेर प्रधानन्यायाधीश लगायत पाँचपाँचजना न्यायाधीश लगातार इजलासमा छन् । १३ वटा रिटमध्ये अहिलेसम्म आठवटा रिटका निवेदकतर्फको बहस पनि सकिएको छैन । यही दरमा सरकारी पक्ष र एमिकस क्युरीले बहस गरेमा आगामी चुनावभन्दा अगाडि निर्णय आउन कठिन छ । जनताका मुद्दाले समेत पालो नपाई अन्यायको शिकार हुनुपर्ने अवस्था छ ।