आँखा पाक्ने रोगबाट कसरी जोगिने?

काठमाडौँ। पछिल्लो केही दिनयता तराईका जिल्लाहरुमा आँखा पाक्ने समस्या बढ्दै गएको छ । तराईका जिल्लाहरुका साथै काठमाडौं उपत्यकामा यो समस्या बढिरहेको छ ।

यतिबेला आँखा अस्पताल तथा अन्य सरकारी अस्पतालहरुमा आँखाका समस्या लिएर विरामीहरु आइरहेका छन् । विशेष गरी गर्मी मौसममा आँखा पाक्ने समस्या समान्य भए पनि केहीमा जटिलता उत्पन्न गराउने चिकित्सकहरु बताउँछन् ।

 चिकित्साकीय भाषामा आँखाको सेतो भाग सुन्निने र रातो हुने समस्यालाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ अर्थात समान्य भाषामा आँखा पाक्ने समस्या भनिन्छ । आँखा पाक्ने संक्रमण हुँदा शुरुमा यी लक्षण देखन्छिन् :
– आँखामा केही बिझे जस्तो महसुस हुने,
– उज्यालोमा हेर्न गाह्रो हुने,
– दृष्टि धमिलो हुने जस्ता समस्या देखिन्छन् ।
 
त्यसैगरी समस्या बढ्दै गएपछि भने यी जटिल लक्षण देखिन्छन् :
– आँखा रातो हुने
– चिलाउने, पोल्ने,
– पानी बग्ने,
– चिप्रा लाग्ने ।

आँखा पाकेपछि के गर्ने?

–साबुनपानीले राम्ररी हात धुने,

–आँखा सफा राख्ने,

–आँखाबाट निस्केको पिप जस्तो पदार्थ सफा कपास वा नरम कपडाले समय समयमा सफा गर्ने र त्यसपछि राम्ररी साबुनपानीले हात धुने,

–फोहोर कपडा वा लगाइरहेको लुगा, सारीको आँचल वा हातले आँखा नपुछ्ने,

–दिनदिनै लुगा र प्रयोग गरेको रुमाल फेर्ने,

–आँखामा लगाउने शृङ्गार सामग्रीको प्रयोग बन्द गर्ने,

–अरूका लुगा, रुमाल र शृङ्गारको उपकरण प्रयोग नगर्ने,

–आफूखुशी औषधि प्रयोग नगर्ने र आँखा विशेषज्ञलाई देखाउने,

–आँखा बेस्सरी नमिच्ने। यसो गर्दा कर्नियामा घाउ हुन सक्छ,

कहिलेकाहीं आँखा पाक्ने मात्रै नभई अरू रोग जस्तैः युभेटिसले गर्दा पनि आँखा रातो हुन्छ, जुन उचित समयमा उपचार नगरिएको आँखाको ज्योति गुम्ने खतरा हुन्छ।

–संक्रमितसँग नसुत्ने, भीडभाड हुने ठाउँमा नजाने,

–सिरानीको खोल, तन्ना हरेक दिन सफा गर्ने,

–कालो चश्माको प्रयोग गर्ने,

–स्कूल, कलेज लगायत भीडभाड हुने स्थानमा नजाने।

–कसरी गर्ने घरमै हेरचाह?

यो रोग लागेमा घरमै पनि आँखाको स्याहार गर्न सकिन्छ। जसले गर्दा एक-दुई सातामै आफैं निको हुन्छ।

–आँखा बरफले सेक्ने,

–सफा पानीले सफा गर्ने,

–घरमा बस्दा वा बाहिर जाँदा कालो चश्मा प्रयोग गर्ने,

–संक्रमित आँखालाई छोएपछि राम्ररी हात धुने,

–आँखालाई नचलाउने,

–अरूले प्रयोग गरेका रुमाल–तौलिया प्रयोग नगर्ने,

–आफूखुशी औषधिको प्रयोग नगर्ने,

–गाह्रो भएमा तुरुन्त स्वास्थ्यकर्मीको सम्पर्कमा जाने।

आँखा पाक्ने समस्या जिवाणुका कारण हुने रोग भएकोले यो समुदायमा सहजै र छिटै फैलिने नेत्ररोग विशेषज्ञहरु बताउँछन् ।

पछिल्लो समय आँखा पाक्ने समस्या लिएर कीर्तिपुर आँखा अस्पतालमा कुल विरामी मध्ये करिब ३० प्रतिशत आँखा पाक्ने समस्या लिएर पुग्ने गरेका छन् ।

त्यस्तै, तिलगंगा आँखा अस्पतालमा दैनिक करिब ७० जना आखाँ पाक्ने समस्या लिएर पुग्ने गरेका छन् । पछिल्लो समय यो समस्या फैलदो अवस्थामा रहेकाले सचेत र सावधान रहन आवश्यक भएको चिकित्सकहरुको भनाई छ । तर आँखा पाक्ने समस्या हावाको माध्यमबाट नसर्ने भएकाले त्रसित हुनु नपर्ने चिकित्सकहरु बताउँछन् ।

यो रोग आँखा पाकेको विरामीको आँखाबाट निस्केको तरल पदार्थ अन्य व्यक्तिले कुनै पनि माध्यमबाट आँखामा पुगेको अवस्थामा भने यो रोग अरुलाई पनि सर्ने गर्दछ । त्यसैले परिवारको कुनै एक सदस्यलाई आँखा पाक्ने रोग लागेको छ भने विरामीले प्रयोग गर्ने रुमाल, साबुन जस्ता समान अरुले प्रयोग नगर्न चिकित्सकहरुको सुझाव छ । साथै केहि व्यक्तिलाई आँखा पाक्ने समस्या सामान्य देखिने र केहिमा यसले जटिलता समेत उत्पन्न गर्ने भएकाले रोगको प्रकृति अनुसारको उपचार आवश्यक पर्ने देखिन्छ ।

यो रोग लाग्दा संक्रमित व्यक्तिको आँखाबाट पानी निस्कने, चिप्रा लाग्ने हुँदा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हात वा अन्य कुनै माध्यमले स्वस्थ व्यक्तिको आँखामा संक्रमण हुने जोखिम उच्च हुने गर्दछ । त्यसैले संक्रमित व्यक्तिले तथा स्वास्थ्य व्यक्तिले पनि समय–समयमा साबुन पानीले हात धुने, अन्य व्यक्तिको रुमाल, तौलिया तथा समान प्रयोग गर्ने जस्ता सावधानी अपनाउन आवश्यक छ । साथै संक्रमण भएको अवस्थामा जथाभावी औषधि प्रयोग नगर्न पनि चिकित्सकहरुले सुझाएका छन् ।