गत साता उकालो लाग्न नसकेको सेयर यो साता के होला ?

काठमाडौं । नयाँ सरकार गठन र त्यसमा पनि विष्णु पौडेल अर्थमन्त्री बनेपछि उकालो लागेको सेयर बजार गत साता ओरालो लाग्यो । सातामा पाँच दिन कारोबार भएको बजारमा एक दिन मात्र नेप्से परिसूचक बढ्यो । ४ दिन बजारले ओरालो यात्रा तय गर्‍यो ।अघिल्लो साता अन्तिम कारोबार दिन नेप्से २१८३ अंकमा थियो ।

गत साता २०९४ अंकमा ओर्लियो । अर्थात् साताभरमा नेप्से ८९ अंकले घट्यो । नेप्से परिसूचक मात्र घटेन, लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहँदा कारोबार रकम पनि ओरालो लाग्यो । साताभर १३ अर्ब ७२ लाख रुपैयाँको सेयर किनबेच भयो । यो रकम अघिल्लो साताको तुलनामा करिब १९ करोड कम हो ।अघिल्लो साता ४ दिन मात्र बजार खुलेकामा औसतमा एक दिन ३ अर्ब २९ करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भएको थियो । गत साता दैनिक औसत कारोबार २ अर्ब ६० करोड रुपैयाँमा झर्‍यो । नयाँ सरकार गठनपछि नेप्सेले उकालो यात्रा तय गर्दा तीन साताअघि दैनिक साढे ७ अर्ब रुपैयाँसम्मको सेयर किनबेच भएको थियो ।

नयाँ सरकार गठनपछि बढेर २२७७ अंकसम्म पुगेको नेप्से सत्ता गठबन्धनमा खटपटका समाचार बाहिरिएपछि घट्न थालेको हो । यसबीचमा लगानीकर्ताले करिब डेढ खर्बको सम्पत्ति गुमाए । गठबन्धनमा देखिएको खटपटले राजनीतिक अस्थिरता हुने त्रास लगानीकर्तामा छ । लगानीकर्ताले अर्थमन्त्री विष्णु पौडेललाई सेयर बजारमैत्री मान्छन् । यस्तै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि पौडेलसँग लय मिलाउन लागिसकेका थिए । त्यही कारण बैंकको ब्याजदर नघटे पनि नयाँ सरकार गठनपछि सेयर बजार उकालो लागेको थियो । तर गठबन्धनमा अहिले देखिएको खटपटले पौडेल अर्थ मन्त्रालयबाट बाहिरिन सक्ने भय लगानीकर्तामा छ ।

हुन त ऋणको ब्याजदर पनि घटेको छैन । राजनीतिक खटपट चर्किए अर्को साता नेप्से अझै ओरालो लाग्न सक्छ । तर गृह मन्त्रालयलाई लिएर उत्पन्न विवाद मिले नेप्से ओरालो लाग्नुपर्ने कारण छैन । पौडेल अर्थ मन्त्रालयमा कायमै रहे उनले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा गभर्नर अधिकारीलाई लचिलो नीति लिन लगाउने र त्यसको सकारात्मक प्रभाव बजारमा पर्ने बुझाइ छ । तर प्राविधिक विश्लेषणले भने नेप्से बढ्ने देखाउँदैन ।