एक वर्षमा ४ करोड थान कण्डम आयात, २४ करोड ६९ लाख खर्च

काठमाडौँ, ७ साउनः गत आर्थिक वर्ष २०८१/८२ मा नेपालमा करिब चार करोड थान कण्डम आयात भएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको वार्षिक तथ्याङ्क अनुसार, विभिन्न देशबाट कुल ३ करोड ९२ लाख ३२ हजार पिस कण्डम आयात भएको हो । यसका लागि २४ करोड ६९ लाख ८७ हजार रुपैयाँ देशबाट बाहिरिएको छ ।

कण्डम आयातमा नेपाल सबैभन्दा बढी भारतमा निर्भर रहेको देखिन्छ । कुल आयातको अधिकांश हिस्सा भारतबाटै आएको छ, जहाँबाट ३ करोड ७१ लाख पिस कण्डम भित्रिएको छ । यसपछि चीनबाट ८ लाख ३१ हजार, दक्षिण कोरियाबाट ७ लाख ७३ हजार र मलेसियाबाट ४ लाख ५५ हजार पिस कण्डम आयात भएको छ । तथ्याङ्क अनुसार थाइल्याण्डबाट ६९ हजार र उज्बेकिस्तानबाट समेत ३२ पिस कण्डम नेपाल भित्रिएको छ ।

परिवार नियोजन र यौनजन्य रोगको रोकथामका लागि अत्यावश्यक मानिने कण्डमको आयातमा राज्यले निकै कम भन्सार शुल्क लिने गरेको छ । २४ करोडभन्दा बढीको कण्डम आयात हुँदा जम्मा ५५ हजार रुपैयाँ मात्रै भन्सार महसुल संकलन भएको तथ्याङ्कले देखाउँछ । जनस्वास्थ्यसँग जोडिएको सामग्री भएकाले यसको पहुँच आम नागरिकसम्म सहज बनाउन सरकारले उदार नीति लिएको देखिन्छ ।

कण्डम परिवार नियोजनको अस्थायी साधनमध्ये सबैभन्दा प्रभावकारी र सुरक्षित मानिन्छ । यसले अनिच्छित गर्भ रोक्नुका साथै एचआईभी लगायतका यौनजन्य रोगबाट बचाउन पनि महत्वपूर्ण भूमिका खेल्छ । पछिल्ला साढे ६ वर्षको अवधिमा नेपालमा १ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको २० करोड ६६ लाख थान कण्डम आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।