विचार : गणतन्त्र दिवस :‘गण’को भलो होस्
काठमाडौँ, १५ जेठः आज नेपालमा गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा भएको दिन । यसै खुसियालीमा देश आज गणतन्त्र दिवसको उत्साहमा छ । सत्र वर्षपहिले आजैको दिन अर्थात् जेठ १५ गते नेपाल औपचारिकरुपमा लोकतान्त्रिक गणतान्त्रिक देशका रुपमा स्थापित भएको हो ।
नेपालको संविधान २०७२ ले यस यथार्थलाई स्वीकार गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल भनेर देशकै नामाकरण गर्दै जेठ १५ को उपलब्धिलाई संस्थागत गर्ने प्रयत्न गरेको छ । विद्यमान राजनीतिक विश्लेषणका आधारमा भन्न सकिन्छ, आजको सन्दर्भमा नेपालका सामु दुईवटा चुनौती छन् । पहिलो, सङ्घीय गणतन्त्रको कार्यान्वयन र दोस्रो संविधानको कार्यान्वयन । संविधानअनुसार यी दुवै चुनौती पार लगाउने मुख्य जिम्मेवारी सङ्घीय सरकारकै हो भन्ने कुरामा शङ्का छैन । तर यो कार्य त्यति सहज छैन ।
खासमा सङ्घीय सरकारका सामु विगतदेखि नै केही सीमितता विद्यमान रहँदै आएका छन् र त्यसै आधारमा भन्न सकिन्छ, नेपाल र नेपालीले अपेक्षित उपलब्धि प्राप्त गर्न केही ढिलाइ भएको पक्कै पनि हो । तर यसै आधारमा गणतन्त्रविरुद्ध कसैले भाष्य निर्माण गर्न खोज्दछ भने त्यो गलत हो । रह्यो देश र जनताले प्राप्त गरेको उपलब्धिको कुरा, त्यो त उपलब्ध तथ्याङ्कको तुलनात्मक अध्ययन गरेर जो सुकैले पनि निष्कर्ष निकाल्न सक्छन्–गणतन्त्रको यो १७ वर्षमा देशमा अतुलनीय विकास भएको छ । तथ्य तथ्याङ्कले बोल्दछ– भौतिक पूर्वाधार निर्माणमा युगान्तकारी उपलब्धि प्राप्त भएका छन् ।
विगतमा सम्पन्न निर्वाचनहरुले कुनै पनि राजनीतिक दललाई बहुमत प्रदान नगर्दा सङ्घमा सरकार बनाउन गठबन्धनको संस्कृति एक किसिमले अनिवार्य जस्तै हुन पुगेको छ र यसले सरकारहरु समस्याग्रस्त बन्ने र बन्न सक्ने अवस्थालाई अस्वीकार गर्न सकिने स्थिति छैन । राजनीतिको यही तरल अवस्थामा हिजो जसका विरुद्ध जनआन्दोलन भएर देशमा गणतन्त्र स्थापित भएको थियो, आज त्यही वर्ग आफूहरुलाई पनि शक्ति मानिदिन दबाब दिने नाममा सडकको साथ खोज्ने जमर्को गर्दैछ । स्पष्ट शब्दमा भन्ने हो भने, हिजोका राजतन्त्र समर्थकहरुले झस्केलाबाट राजतन्त्र स्थापनाको कुरा उठाउन थालेका छन् । उनीहरुले आजैको दिन (जुन दिन नेपालमा गणतन्त्र स्थापित भएको थियो) लाई आफ्नो अभिष्ट पूरा गर्ने दिनका रुपमा प्रयोग गर्न चाहेका छन् । देशमा कुनै पनि नाममा अशान्ति स्वीकार्य छैन, हुनुहुन्न । लोकतन्त्रमा आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रता सबैलाई छ । तर बहुसङ्ख्यकको धारणा र विचारलाई अस्वीकार गरेर आफ्नो कुरा भन्ने नाममा कुनै अप्रिय स्थिति निम्तिन्छ भने त्यसको जिम्मेबार सम्बद्ध पक्ष नै हुनुपर्ने विश्वव्यापी मान्यता हो । यसको हेक्का सबैलाई हुनु अपरिहार्य छ । यो सबै परिदृश्यमा कुरा गर्दा भन्न सकिन्छ, सहमति र संवादको राजनीतिको फेरि पनि विकल्प छैन । वर्तमान सरकार, प्रतिपक्षलगायत देशका सबै राजनीतिक दलले यस विषयमा गम्भीर हुनु जरुरी छ । कुनै पनि समस्याको समाधानका लागि संवाद अपरिहार्य छ । संविधानको दायराभित्रै रहेर समाधान पहिल्याउनु आवश्यक छ । संविधान बाहिर रहेर खोजिने समाधान देश र जनतालाई स्वीकार्य हुन नसक्ने यथार्थबाट कोही पनि पन्छिनु उचित हुँदैन ।
आपसमा सहमति खोज्दै गणतन्त्र र संविधान कार्यान्वयनको प्रक्रियालाई अगाडि बढाउने वाचा राजनीतिक दलका नेताहरुले गर्दै आएका हुन्, तर पछिल्ला दिनमा राजनीतिक दलबीचको संवाद प्रक्रिया कमजोर पो बन्न थालेको हो कि भन्ने अवस्थाको निर्माण हुन खोजेको छ । यसो हो भने यो दुःखदायी छ । संविधानमा आवश्यक संशोधन गरेर सङ्घीयता र गणतन्त्रलाई थप प्रभावकारी बनाउने भन्ने उद्देश्यले संसद्का दुई ठूला दल मिलेर वर्तमान सरकारको गठन भएको हो । यस आधारमा भन्ने हो भने वर्तमान सरकारको मूल एजेण्डा नै सङ्घीयता र गणतन्त्रलाई सशक्त बनाउने हो । आशा गरौँ, सरकारले त्यस दिशामा पक्कै पनि गृहकार्य गरिरहेको नै होला । विगतमा संविधान निर्माणका सन्दर्भमा सबैभन्दा बढी विवाद भएको र सहमति कायम हुन नसकेको एउटा महत्वपूर्ण विषय भनेको सङ्घीयताको स्वरुप र आधार पनि हो । जो प्रत्यक्षतः गणतन्त्रको कार्यान्वयनसँग सम्बन्धित थियो र छ, यसमा शङ्का छैन । प्रारम्भबाटै केहीले सङ्घीयतालाई जातीय र क्षेत्रीय आधारमा प्रदेश विभाजन गर्ने एजेण्डाका रुपमा लिए भने केही यसको विपक्षमा उभिँदै बहुजातीय पङ्तिमा उभिए । देशलाई कति प्रान्तमा विभाजन गर्ने भन्ने कुरामा केन्द्रित भएर प्रदेशको सङ्ख्या कति हुने भन्ने प्रश्नबाट सङ्घीयताको बहसको थालनी भयो । वास्तवमा यो प्रारम्भ नै गलत प्रक्रिया र दृष्टिकोणमा आधारित थियो भन्दा अस्वभाविक हुँदैन । दलहरुबीच कुनै पनि संवाद नभइकनै बहसको रुपमा देखा परेको यो विषय अहिले पनि बहसकै विषय छ, भन्दा असङ्गत ठहर्दैन । तर हाल सङ्घीय संरचनाको निर्धारणपछि निर्वाचनसमेत सम्पन्न भइसकेको र प्रदेश सरकार पनि गठन भइसकेको पृष्ठभूमिमा बहसलाई कुन दिशामा निर्देशित गर्ने भन्नेबारे पनि बहस अपेक्षित छ ।
खासमा नेपालको सन्दर्भमा सङ्घीयता र गणतन्त्रलाई अलग गरेर हेर्न सकिँदैन । सङ्घीयताको कार्यान्वयनमा समस्या आउनु भनेको समग्रमा गणतन्त्रकै कार्यान्वयनमा समस्या आउनु हो भन्ने कुरा बिर्सन मिल्दैन । विगतमा सङ्घीयता निर्माणका सन्दर्भमा त्यसको सैद्धान्तिक आधारमाथि गम्भीर र अर्थपूर्ण रुपले कतै बहस हुन पाएन या भनौंँ सार्थक संवाद हुन पाएन । त्यसैले यस सम्बन्धमा अहिले पनि केही असहमति र असन्तुष्टि विद्यमान छन् । अहिले पनि अबेर भइसकेको छैन, यस विषयमा संवाद अगाडि बढाइनुपर्छ । राजनीतिक दलबीच विस्तृत सहमति कायम हुन्छ भने, प्रदेश निर्माणसम्बन्धी बहसलाई सैद्धान्तिक आधारमा अगाडि बढाइनुपर्छ । केही राजनीतिक दलले अझै पनि सङ्घीयता, प्रदेश र गण्तन्त्रलाई स्वीकार गरिसकेका छैनन् । उनीहरु आफ्नो शर्तमा लोकतन्त्रको व्याख्या र उपयोग गर्न चाहन्छन् । अहिले उनीहरुले खोजेको सडकको साथ पनि यसै मनोदशाको प्रकटीकरण हो । तर प्रश्न उठ्न सक्छ, सङ्घीयता, प्रदेश र गणतन्त्र अस्वीकारलाई संविधानविरुद्धको कृत्य मान्ने कि नमान्ने ? अभिव्यक्ति स्वतन्त्रताका नाममा संविधान विरोधीकार्य कसैबाट हुन्छ भने तिनै शक्तिले हिजोको राजनीतिक पृष्ठभूमिमा अडिएर जवाफ दिने हैसियत राख्नु जरुरी छ । हेक्का रहोस्, असैद्धान्तिक रुपमा हुने बहसले कुनै निष्कर्ष निकाल्न सक्दो रहेनछ भन्ने दृष्टान्त हाम्रै विगत हो ।
उपयुक्त सबै विषयको छिनोफानो संवाद र सहकार्यबाट हुनसक्छ । हामी सबै सार्थक संवादका लागि आवश्यक वातावरण निर्माणमा जुट्नु जरुरी छ । संवादका लागि प्रशस्तै मञ्च (फोरम)हरु छन् । जनस्तरमासमेत छलफल र संवाद हुने अवस्था छ । विभिन्न गैरसरकारी संस्था पनि संवादका लागि उपयुक्त मञ्चका रुपमा स्थापित छन् । तर पनि राजनीतिक नेतृत्वले सहमतिमा रुचि नदेखाउँदासम्म अन्य फोरममा अर्थपूर्ण संवादहरु हुन सक्दा रहेनछन् । यस्ता प्रशस्त उदाहरण हाम्रासामु छन् । त्यसकारण संवादलाई अगाडि बढाउँदै निकासका लागि अन्तरआत्मादेखि नै सबै सरोकारवाला प्रेरित हुनु जरुरी छ । यही अन्तरमनको प्रेरणाले मात्र सबैलाई सकारात्मकतातर्फ उन्मुख हुन प्रेरित गराउन सकिन्छ । सकारात्मक सोचतर्फको यात्राले मात्र संविधान, सङ्घीयता र समग्रमा गणतन्त्रको कार्यान्वयन प्रक्रियालाई अगाडि बढाउन सक्दछ । त्यसकारण अब तर्कका तर्क गरेर, एउटाको कुरा अर्काले काटेर समस्याको समाधान हुँदैन भन्ने यथाशीघ्र बुझ्नु युक्तिसङ्गत हुन्छ । हामी बेलैमा सचेत नभए देश फेरि द्वन्द्वको अन्त्यहीन भूमरिमा फस्न सक्ने सम्भावनालाई कुन आधारमा अस्वीकार गर्ने ? त्यसकारण सबैले आफू र आफ्नो दलको भूमिका खोजी गर्नेभन्दा पनि गणतन्त्रको कार्यान्वयनमा बिना शर्त होमिनु उचित हुन्छ । आफ्नो तत्कालिक भूमिका खोज्नेभन्दा नेपालको वास्तविक समस्याको समाधानमा योगदान दिन सकियोस् भन्नेतर्फ सबै सरोकारवालाले केन्द्रित हुनु उचित हुन्छ ।
कसैलाई दोष दिएर समस्याको समाधान खोज्न सकिँदैन । गणतन्त्र कार्यान्वयनको एकलव्य लक्ष्यमा सबै केन्द्रित हुनु जरुरी छ । यस मार्गमा संविधान र सङ्घीयता कार्यान्वयन उचित र सार्थक मार्ग हुनसक्ने कुरा कसैले विर्सन मिल्दैन । हो, कार्यान्वयनका सन्दर्भमा कहीँ राजनीतिक गाँठो पर्न सक्छ, जहाँनिर गाँठो पर्छ, त्यहाँ फुकाउने संयोजकको भूमिका सरकारले निर्वाह गर्ने हो । दायित्व बोकेकाहरुले दायित्व बहन नगरेपछि सरकारले नै अग्रसर भएर संवाद प्रक्रियालाई निरन्तरता दिन आवश्यक छ । यसका लागि नागरिकस्तरबाट पनि चासो र आवश्यक दबाबको जरुरत पर्दछ । संवादहीनताको अन्त्य गर्दै मुलुकलाई अहिलेको अपेक्षित ‘कोर्स’ मा सफलतापूर्वक डो¥याउनु सबैको दायित्व हो । जय लोकतन्त्र । जय गणतन्त्र । (लेखक राससका कार्यकारी अध्यक्ष हुनुहुन्छ)
डा चन्द्रप्रसाद गुरुङको ‘अन्नपूर्णको स्याहार’ पुस्तक लोकार्पण
भीडभाड कम गर्न अदालतमा नयाँ नियम
एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई एक लाख २० हजार पुरस्कार
सगरमाथा क्षेत्रबाट उद्धार गरिएका शेर्पाको काठमाडौँमा उपचार हुँदै
विश्व वातावरण दिवसमा बिरुवा रोपिए
मुस्ताङ अस्पतालमा बढे बिरामी
उपकुलपतिका लागि आवेदन दिएकाहरूको सर्टलिस्ट को-को? (सूचीसहित)
प्रतिक्रिया