वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

कीर्तिपुरमा डरायो रास्वपा, सहकारी ठगी प्रकरणले जनमत खस्किएको हो ? 

 

तनहुको उपनिर्वाचनमा स्वर्णिम वाग्ले सांसदमा विजयी भएपछि रास्वपामा एकाएक चमक देखियो। नागरिकता प्रकरणमा रवि लामिछानेको सांसद पद गएपछि भएको उपनिर्वाचनबाट रवि फेरि विजयी भए भने थप एक सिट बोनस आयो। यही लहर समात्ने भन्दै गत वैशादमा भएको इलामको उपनिर्वाचनमा रास्वपा नराम्रोसँग हार बेहोर्न बाध्य भयो। मिलन लिम्बूले जमानतसमेत जोगाउन सकेनन्। यो उपनिर्वाचनका बेला सहकारी प्रकरणले संसद तातेको थियो। तर, रास्वपा सभापति लामिछाने भने गृहमन्त्रीको कुर्सीमा थिए। हुन् त त्यतिखेर तत्कालीन महामन्त्री मुकुल ढकालले राजनीतिक, सैद्धान्तिक र संगठनात्मक क्षेत्रमा व्यापक सुधार नगरे पार्टीको भविष्य नै समाप्त हुन सक्ने चेतावनी दिएका थिए। उनले प्रतिवेदन नै बनाएर स्वतन्त्र पार्टीको मर्म हराएको, अन्य पार्टीभन्दा फरक हुन नसकेको, पुराना शक्तिसँगै सम्झौता गरेर अगाडि बढेको, सांसददेखि मन्त्रीसम्मको भूमिका कमजोर भएको भनेर निर्मम समीक्षा गरेका थिए। 

https://barnanmedia.com/news/detail/203634/ 

विशिष्ठ गुणस्तर, स्वाद र स्वस्थवद्र्धक नेपाली वस्तुहरुलाई विश्व बजारमा पहुँच वृद्धि 

विशिष्ठ गुणस्तर, स्वाद र स्वस्थवद्र्धक नेपाली वस्तुहरुलाई विश्व बजारमा पहुँच वृद्धि गर्ने उद्देश्यले १२ वटा उद्यमका प्रतिनिधिसहित ३२ जनाको सहभागितामा दुबईमा नोभेम्बर १८ (बि.सं. २०८१ मंसिर ३ गते) “Middle East Organic and Natural Products Expo Dubai – 24" आयोजित नेपाल पेभेलियनको दुवइका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्री ज्यूकोे समउपस्थितिमा उदघाटन भएको छ । उदघाटन कार्यक्रममा ने.उ.वा. महासंघका उपाध्यक्ष श्री हेमराज ढकाल ज्यू, ने.उ.वा. वाणिज्य महासंघ / कृषि उद्यम केन्द्रका उपसभापति श्री डि.बी. बस्नेत ज्यू लगायत महासंघका केन्द्रिय सदस्यहरु श्री कमला श्रेष्ठ, श्री नरेश लाल श्रेष्ठ एवं श्री दिपक नेपाल लगायत ३२ जना व्यवसायीहरुको सहभागिता रहेको थियो ।  

https://barnanmedia.com/news/detail/203734/ 

‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’ विवादमा नेपाल विद्युत प्राधिकरणले काटेका बिलबिजकको अध्ययन गर्न तीन सदस्यीय विज्ञ समिति गठन गरेको छ । मन्त्रालयले डेडिकेटेड तथा ट्रङ्कलाइन विद्युत् महसूल बक्यौतासम्बन्धी आवश्यक सत्यतथ्य विवरण/प्रमाण संकलन गर्ने एवम् प्रमाणीकरण गर्ने कार्यादेशअनुसार नेसनल कलेज अफ इन्जिनियरिङ्का प्राडा अरविन्दकुमार मिश्रको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जानकारी दिए। समितिको सदस्यमा ‘चार्टड एकाउन्टेन्ट’ सुजनकुमार काफ्ले र श्रीरामराज पाण्डे छन्। “समितिले गिरिशचन्द्र लाल नेतृत्वको आयोगले गरेका सिफारिस र मन्त्रिपरिषद्ले गरेका निर्णयका आधारमा पहिले काटेका बिलबिजकलाई ‘टाइम अफ डे’ (टीओडी) मिटरका आधारमा पुनःगणना गरी जाँच गर्नेछ,” मन्त्री खड्काले भने। 

चिया ऐन बनाउन सभामुख घिमिरेसँग माग

प्रादेशिक चिया समन्वय समितिले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई आज चिया क्षेत्रका समस्या समाधानका लागि ऐन बनाउन सहयोगको अपेक्षासहित ध्यानाकर्षण पत्र बुझाएको छ । समितिले चिया ऐन निर्माण, विनियोजित बजेट कार्यान्वयनलगायत विषयमा झापाका चिया सरोकारवालाले सभामुख घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । चिया समन्वय समितिका संयोजक आदित्य पराजुलीसहितको टोलीले उहाँको निजी निवासमा भेटघाट गरी पत्र बुझाएको हो । नेपालमा चिया रोपण भएको एक सय ६१ वर्ष पुग्दा चिया ऐन निर्माण नभएकोबारे सभामुख घिमिरेलाई अवगत गराएका थिए । उनीहरुले रु चार अर्ब विदेशी मुद्रासहित वार्षिक रु ११ अर्बको आर्थिक कारोबार हुने चिया क्षेत्र ऐन कानुनको अभावमा व्यवस्थित गर्न नसकिएको बताएका थिए । ध्यानाकर्षण पत्रमा चिया ऐन निर्माणमा पहल गर्न सभामुख घिमिरेलाई आग्रह गरिएको छ । 

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आठौँ संस्करण घोषणा 

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आठौँ संस्करण विसं २०८२ असार ५ देखि ८ गते सम्म  हुने भएको छ ।  अमेरिकाको मेरिल्याण्ड राज्य र वासिङ्टन डीसी महानगर क्षेत्रमा आयोजना गरिने महोत्सवका लागि विश्वभरबाट आवेदन खुला गरिएको आयोजकले जनाएको छ । महोत्सवमा कथानक, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसन लगायतका विधाका चलचित्र देखाइने महोत्सव निर्देशक युवाकर राजकर्णिकारले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “नेपाल, अमेरिका र दक्षिण एसियासहित विभिन्न देशका स्वतन्त्र चलचित्रलाई उच्च प्राथमिकतामा राखेका छौँ । सबै दर्शक तथा सहभागीमा मनोरञ्जन र ज्ञान आदानप्रदानको अनुभूति गराउने विश्वास लिएका छौँ ।” मेरिल्याण्डमा स्थापित गैरनाफामूलक संस्था ‘नेपाल–अमेरिका फिल्म सोसाइटी’ ले सन् २०१७ देखि प्रत्येक वर्ष महोत्सव आयोजना गर्दै आएको छ । वासिङ्टन डीसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्न ‘डीएमभी क्लोजअप’अन्तर्गत पनि चलचित्र प्रदर्शन हुने जनाइएको छ ।

एनपीएलको खेल तालिका सार्वजनिक 

नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्ने भएका छन्।  नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको खेल तालिका अनुसार एनपीएलको उद्घाटनका दिन एक खेल मात्र हुनेछ। अन्य दिनमा दुई खेल हुनेछ। मंसिर १५ गते शनिबार हुने उद्घाट खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ।  मंसिर १७ गते दुई खेल हुनेछ। लिगको दोस्रो दिन १७ गतेको पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज सोही दिनको अर्को खेलमा जनकपुरले कर्णाली याक्ससँग खेल्ने तालिका छ। त्यस्तै १८ गते सुदुरपश्चिम रोयल्स र विराटनगर तथा चितवन राइनोज् र पोखरा एभेन्जर्स खेल्नेछन्। पुष १ गते १ खेल मात्र हुनेछ। लिग चरणको खेलपछि अंक तालिकाको तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन्। शीर्ष र दोस्रो स्थानमा रहने टोलीले पहिलो क्वालिफायर्स खेल खेल्नेछन्। पहिलो क्वालिफायर्सको विजेताले सिधै फाइनलमा स्थान बनाउँदा पराजित हुने टोलीले भने दोस्रो क्वालिफायर्स खेल्ने मौका पाउनेछ।  

अभिनेत्री कश्मिरा शाहकाे एउटा भयानक दुर्घटना 

 कृष्णा अभिषेककी पत्नी तथा अभिनेत्री कश्मिरा शाहकाे एउटा भयानक दुर्घटना भएको छ । उनले दुर्घटनाको तस्विर सामाजिक सञ्जालमा सेयर गरेका छिन् । तस्बिरमा रगतले भिजेको लुगा देखिन्छ । कश्मिराले इन्स्टाग्राममा पोस्ट गरेकाे तस्बिरकाे क्याप्सनमा उनले दुर्घटना भयानक भएकाे खुलाएकी छन् । कश्मिरा शाहले पोस्ट गर्दै लेखेकी छिन्- “मलाई बचाउनु भएकोमा भगवानलाई धन्यवाद। यो एक धेरै खतरनाक दुर्घटना थियो।” कश्मिराको यो पोस्टमा फ्यान र सेलिब्रेटीले लगातार कमेन्ट गरिरहेका छन् । कृष्णा अभिषेकले पनि कमेन्ट गर्दै लेखेका छन्- भगवानलाई धन्यवाद तपाईं सुरक्षित हुनुहुन्छ। अभिनेत्री किश्वर मर्चेन्टले सोधिन्, सन्चै हुनुहुन्छ ? दीपशिखा नागपालले लेखे- छिट्टै फर्कि आऊ। तनाज इरानीले लेखे- OMG यो धेरै खतरनाक छ। म आशा गर्छु कि तपाई सन्चै हुनुहुन्छ। राजेश खट्टरले लेखे- के भयो कश्मीरा ? आशा छ सबै राम्रो छ। पूजा बेदीले लेखिन्- हे भगवान, नगदलाई के भयो ? के तपाईलाई हेरचाह गरिएको छ ?

भारतीय ग्यास बुलेटको ठक्करबाट मृत्यु हुनेमा गोरखाको गण्डकी सीता प्रजा, छोरा भेट्न झरेकी थिइन् फिस्लिङ 

चितवनको इच्छाकामना गाउँपालिका–३, फिस्लिङस्थित पृथ्वीराजमार्गमा भारतबाट बनेपा तर्फ जाँदै गरेको एक भारतीय ग्यास बुलेटको ठक्करबाट मृत्यु हुनेमा गोरखाको गण्डकी गउाउँपालिका–६ भुम्लीकी ४५ बर्षीया सीता प्रजा रहेको पुष्टी भएको छ।  सोमबार दिउँसो उक्त स्थानमा एन एल ०१ ए ०२८० नम्बरको भारतीय ग्यास बुलेटको ठक्करबाट प्रजाको मृत्यु भएको हो। भुम्लीबाट बोलेरो गाडीमा फिस्लिङ आएकी प्रजालाई ग्यास बुलेटले ठक्कर दिदा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।सुस्त मनिस्थितीकी सीता चितवनको इच्छाकामना गाउँपालिका–३ मा बस्ने आफ्नो छोराको घर जाने क्रममा दुर्घटनामा परेको पाइएको गण्डकी गउाउँपालिका–६ का वडाध्यक्ष तुलबहादुर गुरुङले जानकारी दिए। उनको घटनास्थलमै मृत्यु भएको थियो। 

 

कर्णालीमा अझैपनि आयोडिनयुक्त नुन पुर्‍याउनै कठिन

कर्णालीमा अझैपनि आयोडिनयुक्त नुन पुर्‍याउनै कठिन छ।​​​​​​​ साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कर्णालीका सबै डिपोहरुमा नुन ढुवानी गरिरहेको छ।सरकारले ढुवानी भाडामा अनुदान दिइ साल्ट ट्रेडिङले कर्णालीका जिल्लामा आयोडिनयुक्त नुन सहुलियतामा बिक्री गर्दै आएको छ। उपल्लो डोल्पाको तिन्जे बिक्री केन्द्रबाहेक अन्य ठाउँमा आयोडिनयुक्त नुन पुर्‍याउने क्रम जारी रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको प्रदेश कार्यालय, नेपालगञ्जका प्रमुख मनोज चौधरीले जानकारी दिए।चीन सरकारले अनुमति नदिएका कारण उपल्लो डोल्पामा नुन ढुवानी गर्न नसकिएको साल्ट ट्रेडिङले जनाएको छ। कर्णालीका पूरै र लुम्बिनीमा आयोडिनयुक्त नुन नेपालगञ्जबाट ढुवानी गरिँदै आएको छ। कर्णालीका हुम्ला, मुगु र डोल्पामा आयोडिनयुक्त नुन नपुग्ने समस्या यो वर्ष समाधान भएको प्रमुख चौधरीले जानकारी दिए। कर्णालीका जिल्लाहरुमा प्रतिपोका नौ रुपैयाँले आयोडिनयुक्त नुन बिक्री हुने गरेको छ।    

‘अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि पर्याप्त तयारी आवश्यक’ 

 नेपालले अतिकम विकसित मुलुक (एलडिसी) बाट स्तरोन्नतिका लागि पाएको सन् २०२६ सम्मको तयारी अवधिभित्र उद्योग क्षेत्रमा पर्याप्त लगानी तथा विकास र व्यापारमा विविधीकरणको आवश्यकता जानकारहरूले औंँल्याएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ र इनोभेसन हब काठमाडौँको सहकार्यमा आज यहाँ आयोजित परिसंवाद कार्यक्रमका वक्ताहरूले स्तरोन्नतिका लागि उत्पादन र व्यापारका क्षेत्रमा नेपालले पर्याप्त तयारी गर्न आवश्यक रहेको धारणा राखेका छन् । राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनीले अतिकम विकसित मुलुकबाट स्तरोन्नतिको प्रक्रियालाई दिगो बनाउन नेपालले आफ्ना सूचकमा सुधारसँगै त्यसलाई दिगो पनि बनाउन आवश्यक रहेको बताउनुभयो । “अब हामी स्तरोन्नति हुन्छाँै भन्ने कुरामा दुईमत छैन । तर चुनौती के छ भने, यो स्तरोन्नतीलाई दिगो र फेरी फर्केर नआउने वा स्तर नघट्ने बनाउनुछ । त्यसका लागि आधार तयार पार्न आवश्यक छ”, उहाँले भन्नुभयो, “हाम्रा व्यापारलाई तयार पार्ने भनेको त्यही आधार तयार पार्ने हो ।” 

चार तारेमा स्तर वृद्धि गर्दै 'होटल जङ्गल क्राउन'
 

सौराहामा पछिल्लो समय ठूलो लगानीका होटल खुल्ने क्रम बढेको छ । कतिपय नयाँ होटल थपिएका छन् भने कतिपयले भइरहेका होटलमा लगानी थपेका हुन् । यहाँको होटल जङ्गल क्राउनले स्तरवृद्धि गरी चारतारे होटल निर्माणका लागि आज नयाँ भवनको शिलान्यास गरेको छ । भवनको पूर्वपर्यटनमन्त्री प्रेम आलेले शिलान्यास गर्नुभयो ।  उहाँले विदेशमा गएर पसिना बगाउने नभई अब स्वदेशमै विदेशीलाई बोलाएर विदेशी मुद्रा आर्जन गर्ने बेला आएको बताउनुभयो । होटलका अध्यक्ष डा तिलचन्द्र भट्टराईले तीन तले ४० कोठे नयाँ भवन बनेसँगै चारतारे सुविधा सम्पन्न होटल निर्माण गरिने जानकारी दिनुभयो । हाल उक्त होटलको ४३ कोठा सञ्चालनमा छन् । होटलमा बस्ने ग्राहकलाई स्वीमिङ पुल र हेल्थ क्लबको सुविधा निःशुल्क दिने गरी सरकारले तोकेको मापदण्ड पूरा गरी चार तारे स्तरमा स्तरवृद्धि गर्न लागिएको उहाँले बताउनुभयो । 

‘देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नु पर्ने’ 

नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने बताउनुभएको छ ।  नेकपा (एमाले) क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं २, दाङले आज घोराहीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष ज्ञवालीले कम्युनिष्ट पार्टीका कार्यकर्ता अध्ययनशील, गतिशील, इमान्दार र मेहनती हुनुपर्ने धारणा राख्नुभयो । उहाँले जनताको बहुदलीय जनवाद (जबज) को सार समाजको  रुपान्तरण भएको उल्लेख गर्नुभयो । आर्थिक र सामाजिक परिवर्तनका लागि सबै एकताबद्ध हुनुपर्ने उहाँको भनाइ थियो । मुलुकको प्रमुख समस्या भ्रष्टाचार भएको बताउँदै उहाँले कम्युनिस्ट पार्टीको नेता तथा कार्यकर्ताले कुनै किसिमको भ्रष्टाचार गर्न नहुने स्पष्ट पार्नुभयो ।  सोही कार्यक्रममा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मिसन–८४ मा पार्टीलाई निर्णायक शक्तिका रूपमा स्थापित गरिने बताउनुभएको छ ।  

 अहिले देउवा ओलीको जुँगामा ताउ लगाउँदै छन् : ज्ञानेन्द्र शाही

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले जनता भिडाएर एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवा मिलेर सरकार बनाएको बताएका छन् । सुदूरपश्चिमको बाजुराको कोल्टीमा आयोजित आमसभालाई सम्बोधन गर्दै सत्ताको लागि कुनै सिद्धान्तविनै मिलेको जिकिर गरे । उनले भने, ‘बाजुरामा एमाले भनेपछि काँग्रेसले कुट्ने, काँग्रेस भनेपछि एमालेले कुट्ने, ठोकाठोक गर्ने, प्रत्येक चुनावमा मान्छेको हत्या हुन्छ । अहिले माथि सबै मिलेर सरकार बनाएका छन् । केपी ओलीको जुँगामा शेरबहादुरले ताउ लगाइदिन्छन्, अनि बाजुराका जनता आपसमा लड्छन् । उनीहरूलाई सिद्धान्त चाहिएको छैन । अनि यहाँ आपसमा किन लड्ने ?’

‘सुन्दर भवनले होइन, सेवाले जनताको अवस्था बदलिन्छ’ 

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सुन्दर भवनले नभई सेवाले मात्र जनताको अवस्था बदलिने बताउनुभएको छ ।  कालीकोट सदरमुकाम मान्मस्थित आज जिल्ला अस्पतालको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले सेवाको अनुभूति हुने गरी हरेक क्षेत्रले काम गर्नुपर्ने बताउनुभयो । “भवन सुन्दर बनाएर जनताको जीवनशैली बदलिँदैन”, उहाँले भन्नुभयो, “त्यसका लागि सेवा प्रभावकारी दिनुपर्दछ । मुलुकको विकास र समृद्धिका लागि सबै कर्तव्यनिष्ठ हुनुपर्दछ ।” प्रदेश सरकारले आफ्नो क्षमताअनुसार मात्र काम गर्न सक्ने उहाँको भनाइ छ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेपछि राज्यका सबै तहमा सबै क्षेत्रको सहभागिता रहेको बताउँदै उहाँले भन्नुभयो, “नागरिकदेखि नेतृत्व सबैको जिम्मेवारपूर्ण भूमिकाबाट मात्र समृद्धि सम्भव छ ।”  

आज राति ११ बजेदेखि पृथ्वीराजमार्ग बन्द हुने

 मुग्लिङ–पोखरा सडक योजना अन्र्तगत तनहुँ खण्डमा पर्ने छिर्कन–देउराली खण्ड आज राति ११ बजेदेखि २० दिन दैनिक चार घण्टा ३० मिनेट बन्द हुने भएको छ । पहिलो चरणमा आज राति ११ बजेदेखि राती १ बजेसम्म र दोस्रो चरणमा राती १ः३० बजेदेखि बिहान ४ बजेसम्म सडक पूर्णरुपमा बन्द हुने भएको हो ।  जिल्ला प्रहरी कार्यालय तनहुँले आज सूचना जारी गर्दै लामो समय सडक बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न चालक तथा सवारी धनिलाई अनुरोध गरेको छ । मङ्सिर ३ गते सोमबारदेखि मङ्सिर २३ गते आइतबारसम्म सडक बन्द गरी निर्माण गरिने पूर्वीसडक खण्ड आयोजनाले जनाएको छ ।