भारतीय ग्यास बुलेटको ठक्करबाट मृत्यु हुनेमा गोरखाको गण्डकी सीता प्रजा, छोरा भेट्न झरेकी थिइन् फिस्लिङ

चितवनको इच्छाकामना गाउँपालिका–३, फिस्लिङस्थित पृथ्वीराजमार्गमा भारतबाट बनेपा तर्फ जाँदै गरेको एक भारतीय ग्यास बुलेटको ठक्करबाट मृत्यु हुनेमा गोरखाको गण्डकी गउाउँपालिका–६ भुम्लीकी ४५ बर्षीया सीता प्रजा रहेको पुष्टी भएको छ। 

सोमबार दिउँसो उक्त स्थानमा एन एल ०१ ए ०२८० नम्बरको भारतीय ग्यास बुलेटको ठक्करबाट प्रजाको मृत्यु भएको हो। भुम्लीबाट बोलेरो गाडीमा फिस्लिङ आएकी प्रजालाई ग्यास बुलेटले ठक्कर दिदा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।सुस्त मनिस्थितीकी सीता चितवनको इच्छाकामना गाउँपालिका–३ मा बस्ने आफ्नो छोराको घर जाने क्रममा दुर्घटनामा परेको पाइएको गण्डकी गउाउँपालिका–६ का वडाध्यक्ष तुलबहादुर गुरुङले जानकारी दिए। उनको घटनास्थलमै मृत्यु भएको थियो। 

घटना पछि स्थानीयहरू ठूलो संख्यामा भेला भई शव उठाउन नदिएपछि राजमार्ग दुबै तर्फ अवरुद्ध गरका थिए। मृतक सीताको परिवार र स्थानीय जनप्रतिनिधिसँग सहकार्य गरेर पीडित परिवारलाई क्षतिपूर्ति दिने सर्तमा स्थानीयहरूसँग समन्वय गरी अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याइएको चितवन प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी भेषराज रिजालले जानकारी दिए।