गोमा सापकोटाको सांसद पद विवाद: सभामुखले कारबाही सूचना टाँस्ने तयारी

सभामुख देवराज घिमिरेले जनमत पार्टीकी सांसद गोमा लाभ (सापकोटा)लाई कारबाही गरिएको सूचना टाँस्ने तयारी गरेका छन् । गत वर्ष फागुन २७ गते जनमत पार्टीले समानुपातिक सांसद सापकोटालाई सांसद पदबाट हटाउन सभामुख घिमिरेलाई पत्र पठाएको थियो । तर, झन्डै नौ महिनासम्म जनमत पार्टीको निर्णयसहितको पत्राचार कार्यान्वयन भएको थिएन । जनमत पार्टीले पटकपटक पत्राचारबारे सभामुखको ध्यानाकर्षण गराउँदै आएको थियो ।

जनमतको सिफारिसबमोजिम सभामुखले कारबाहीसम्बन्धी सूचना ननिकालेपछि उनी सांसद पदमा बहाल नै छिन् ।तर, जनमतले सांसद सापकोटालाई कारबाही गर्न चौथोपटक पत्र पठाएपछि सभामुख घिमिरेले आवश्यक कारबाहीका लागि भन्दै तोक लगाइदिएका छन् । अब संघीय संसद् सचिवालयलाई प्रक्रिया अघि बढाउने बाटो खुलेको छ ।

अब सचिवालयले टिप्पणी उठाएर पठाएपछि संघीय संसद् सचिवालयका महासचिवले सभामुखसमक्ष पेस गर्ने छन् । सभामुखले अघि बढाएपछि सचिवालयको सूचना पाटीमा सूचना प्रकाशन हुने छ । संसद्को अधिवेशन जारी नभएकाले संसद् सचिवालयको सूचना टाँस गरेसँगै उनको सांसद पद रिक्त हुने छ ।

जनमत पार्टी संसदीय दलका उपनेतासमेत रहेको उपाध्यक्ष अब्दुल खानले सांसद सापकोटालाई अनुशासनको कारबाही गरेको जानकारी दिए । उनले खास कारण भने खुलाउन चाहेनन् ।

“उहाँले पार्टी अनुशासनविपरीत काम गरेको हुनाले कारबाही गरिएको हो,” खानले भने, “पार्टीभित्रको विषय सार्वजनिक गर्नु उपयुक्त नभएकाले पत्रमा नै लेखेर पठाएका छौँ ।”

जनमत पार्टीले ०८० चैत १ मा दोस्रोपटक, ०८१ भदौ २७ मा तेस्रोपटक र ०८१ कार्तिक २७ गते चौथोपटक पत्र पठाएको छ । चौथोपटकको पत्राचारपछि जनमतका अध्यक्ष सीके राउतले सभामुख घिमिरेसँग कानुन व्यवसायीसहित पुगेर छलफल गरेका थिए । छलफलपछि सभामुखले पत्रका तोक लगाएर अघि बढाइदिएका हुन् ।