विश्वकपका लागि नेत्रहीन नेपाली टिमको तयारी

 मङ्सिर ७ देखि १८ गतेसम्म पाकिस्तानमा चौथो टी-ट्वेन्टी नेत्रहीन विश्वकप क्रिकेट आयोजना हुँदै छ ।

विश्वकपमा सहभागी हुने नेपाली टोलीको अन्तिम चरणको बन्द प्रशिक्षण दाङको लमहीमा चलिरहेको छ । गत कात्तिक ४ र ५ गते काठमाडौंमा भएको छनोटमा परेका १५ पुरुष नेत्रहीन क्रिकेटरलाई बन्द प्रशिक्षणमा सहभागी गराइएको छ। प्रशिक्षणमा सन् २०१८ र २२ मा नेत्रहीन विश्वकप खेलिसकेका १० र ५ जना नयाँ खेलाडी सहभागी छन् ।

बि-वान अर्थात् कत्ति पनि आँखा नदेख्ने ५ जना, बि-टु अर्थात् ५ मिटरसम्म मात्रै देख्ने ५ जना र बि-थ्री अर्थात् १० मिटरसम्म अलिअलि आँखा देख्ने ५ जना गरी १५ जना नेत्रहीन क्रिकेट खेलाडी बिहान बेलुका दाङको लमहीस्थित प्रस्तावित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा रहेकाछन् । उनीहरू क्रिकेट बल र खेलाडीको आवाजको माध्यमबाट खेलिने नेत्रहीन क्रिकेटको विश्वकप खेल्न तयारी गरिरहेका छन् । बलिङ गर्दा आउने आवाज सुनेको भरमा त्यसलाई पछ्याउँदै ब्याटिङ गर्छन् भने बलिङ र फिल्डिङ गर्नेले पनि त्यसैलाई पछ्याएर चलिरहेको छ । विश्वकप प्रतिस्पर्धाको  नेपालको तयारी कस्तो चल्दै छ त ?

सन् २००८ मा पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेलेर अन्तर्राष्ट्रिय सहभागिताको सुरुवात गरेको नेपालले सन् २०१२ मा भारतको बेङ्लोरमा भएको नेत्रहीनहरूको विश्वकपमा भाग लिएर विश्वकप सहभागिता थालेको थियो । त्यसबखत नेपालले पहिलो पटक बङ्लादेशी टिमलाई पराजित गर्न सफल भयो । बन्द प्रशिक्षणको समय कम भए पनि निकै उत्साह र मिहिनेतका साथ अभ्यास गरिरहेको र नतिजा राम्रो आउनेमा खेलाडीहरू आशावादी छन् ।

पुरुष तथा महिला क्रिकेटमा आफ्नो अलग पहिचान बनाउन नेपाल सफल भएको छ । भर्खरै अन्डर १९ महिला क्रिकेट विश्वकपका लागि छनोट भएको छ । तर उत्तिकै सशक्त उपस्थिति जनाउँदै आइरहेको नेत्रहीन क्रिकेट भने ओझेलमा छ । विश्वकप खेलेर देशलाई विश्वमा चिनाइरहेका खेलाडीलाई देशले भने चिन्न नसकेको गुनासो उनीहरू गर्छन् ।

नेत्रहीनहरूको विश्वकप क्रिकेटमा ११ देशको सहभागिता रहेकोमा नेपालको हालको स्थान छैटौँ, सातौँ हुनु मुलुकका लागि उपलब्धिमूलक नै मान्नुपर्छ । तर नेपालमा यसको संस्थागत विकास भने हुन सकेको छैन । 

टि-२० मा ११ जनाको खेलमा ४ जना बि वान खेल्नुपर्छ भने बलिन्ङमा अनिवार्य बि वान ले ८ ओभर फाल्नुपर्छ ।