दरबारमार्गमा अन्नपूर्ण स्क्वायर होटेलको शिलान्यास
काठमाडौंको दरबारमार्गमा अन्नपूर्ण स्क्वायर होटेलको सोमबार शिलान्यास गरिएको छ ।
आईटीसी होस्पिटालिटीसँगको साझेदारी पत्रमा हस्ताक्षरको दुई महिनापछि अन्नपूर्ण स्क्वायर होटेलका अध्यक्ष मीनबहादुर गुरुङले सोमबार विधिपूर्वक पूजा गरेर शिलान्यास गरेका हुन् ।
यो होटेल २५ तले संरचनासहितको हुने छ । यो होटल ९ लाख स्क्वायर फिट क्षेत्रफलमा फैलिएको हुनेछ । ३५० कोठे होटलमा ४० कोठा अपार्टमेन्ट र होटल परिसरमा बिजनेस कम्प्लेक्स पनि बनाइनेछ ।
होटेल निर्माणका लागि साढे ६ अर्ब लगानी गुरुङले गर्दैछन् । यो होटेललाई वि.सं. २०८५ देखि सञ्चालन तयारी गरिएको अध्यक्ष गुरुङले बताएका छन् ।
यसअघि सञ्चालनमा रहेको दरबारमार्गस्थित पाँचतारे होटल अन्नपूर्णलाई भत्काएर अत्याधुनिक नयाँ होटल बनाउन लागिएको हो।
यसअघि नै भाटभटेनीका मालिक मीनबहादुर र लिटिल एन्जल्सका मालिक उमेश श्रेष्ठसहितको समूहले होटलको बहुमत सेयर किनेका थिए । त्यसपछि यस होटललाई अन्नपूर्ण स्क्वायर नाम दिइएको हो । नयाँ ब्राण्डिङसहित यस होटलमा भारतीय प्रिमियर ब्राण्ड आईसीटी वेलकमलाई ल्याइएको छ ।
शिलान्यासका क्रममा गुरुङले दक्षिण एसियाकै उत्कृष्ट होटल बनाउने योजना सुनाए । यस होटललाई नेपालकै लक्जरी आतिथ्यतासहितको बनाउने पनि बताएका छन् ।
प्रतिक्रिया