ढिलागरी सार्वजनिक बिदा दिदा सरकारकाे तीव्र आलोचना
सरकारले ढिलागरी सार्वजनिक बिदा दिने निर्णय गरेपछि तीव्र आलोचना भएको छ ।
कार्यालय पुगेपछि विदाको घोषणा गरिएको भन्दै सेवाग्राहीले सामाजिक सञ्जालमा सरकारको आलोचना गरेका हुन् ।
पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनमा शोक व्यक्त गर्दै सरकारले बिहान ९ बजेर ४० मिनेटमा बिदा दिने निर्णय गरेको थियो । त्यतिबेला कर्मचारी र सेवाग्राही कार्यालय पुग्ने क्रममा थिए । विद्यालयहरु त बिहानैदेखि खुलिरहेकै थिए ।
कतिपय सेवाग्राही छिटो सेवा पाउनका लागि लाइनमा बसीसकेपछि सरकारको निर्णय सार्वजनिक भएको थियो । कतिपय कर्मचारी पनि कार्यालय पुगेर हाजीर समेत गसिकेका थिए । सामान्यतः सरकारी कर्मचारीहरू बिहान ९ बजेदेखि पौने दश बजेसम्म कार्यालय पुग्ने गर्छन् ।
सेवा लिन काममा हिडेका कतिपयले भने बीच बाटोमै एक्कासी विदाबारे जानकारी पाएपछि फर्किनु परेको भन्दै गुनासो गरेका छन् । सरकारले समयमा निर्णय लिन नसक्दा सर्वसाधारण समस्यामा परेका हुन् । सरकारले शोकमा आज सार्वजनिक बिदा दिने र स्वदेश तथा विदेशस्थित सबै कार्यालयमा आज दिनभर राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय गरेको छ ।
सरकारी निर्णय ढिलो सार्वजनिक हुँदा कर्मचारीहरूले समय व्यवस्थापनमा आएको समस्याप्रति असन्तोष जनाएका छन् । ‘यस्ता निर्णयहरू समयमै सार्वजनिक गरेको भए कम्तिमा यहाँसम्म पुगेर फर्किने दुःख त हुँदैनथ्यो, बिदा भएसी यता अफिसमा नि काम भएन, उतातिर पनि केही प्लान बनेन’ सिंहदरबारमा कार्यरत एक कर्मचारीले भने ।
आइतबार बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा उनको निधन भएको थियो । ढुङ्गानाको राजकीय सम्मानका साथ आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ । त्यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर सानोगौचरणमा राखिएको छ ।
प्रतिक्रिया