शिक्षक सरुवाको बिषय लिएर मेयरमाथि आक्रमणको प्रयास

रौतहट स्थित शिक्षक सरुवाको बिषय लिएर देवाही गोनाही नगरपालिका भवन र मेयर प्रेमलाल साहको घरमा भएको आक्रमणको घटनाको टुंगो नलाग्दै सोही विषयमा फेरि एक एक मेयरमाथि आक्रमणको प्रयास भएको छ।

जिल्लाको मध्यभाग गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालमाथि आइतबार साँझ आक्रमणको प्रयास भएको हो । शिक्षक सरुवाको बिषय लिएर आइतबार १०–१२ जनाको संख्यामा मेयर जैसवालको घरमा गएका मानिसहरू भनाभन गर्दै आक्रमणको प्रयास गरेका हुन्।

आक्रामक शैलीमा गएका उनीहरूले मेयर जैसवालको घर अगाडी तथानाम गालीगलौज गरिरहेका थिए । प्रतिबाद गरेका मेयरका छोरा शैलेश जैसवालमाथि उनीहरू धक्कामुकीसमेत गरेका छन्।

गत शुक्रबार नगर शिक्षा समितिको बैठकले ६ जना शिक्षकको सरुवा गर्ने निर्णय गरेको थियो। सोही मध्ये एक जना मावि गरुडाका शिक्षकलाई अन्य विद्यालयमा किन सरुवा गरेको भन्दै उनीहरू मेयर कन्थमणि जैसवालमाथि आक्रमण गर्न खोजेको बुझिएको छ।

शिक्षक सरुवाको विषय नगरपालिकामा गएर सुल्झाउनु पर्नेमा केही राजनीतिक दलका नेता तथा अन्य शिक्षकहरूको उस्काहटमा गरुडा  ४ का केही मानिसहरू यस प्रकारको अभद्र व्यवहार गरेको मेयरका छोरा शैलेश जैसवालले बताएका छन्। गरुडा ४ का रामएकवाल पटेल, वीरेन्द्र पटेल, दिलिप पटेल, होसनारायण यादव, श्याम यादव, छोटेलाल पटेल र लालबाबु यादवलगायतका मानिसहरू मेयर जैसवालविरुद्ध खुलेरै लागेको शैलेशले जानकारी दिएका छन्।

यसैबीच अभद्र व्यवहारमा लागेका ७ जनाविरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा लिखित उजुरी दिएको मेयरका छोरा शैलेशले बताएका छन्। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले सामान्य भनाभन भएको तर कसैमाथि आक्रमण नभएको बताउँदै आवश्यक अनुसन्धान गरिरहेको बताएका छन्।

यसअघि शिक्षक सरुवाको बिषय लिएर देवाही गोनाही नगरपालिका भवन र मेयर प्रेमलाल साहको घरमा आक्रमण गर्दा ७५ लाख बराबरको क्षति भएको सार्वजनिक गरिएको थियो। उक्त घटनामा ईलाका प्रहरी कार्यालय गरुडाका १० जनाविरूद्ध मुद्दा दायर गरिएको थियो ।