मुटु कसरी जोगाउने ?

काठमाडौँ, ३ मङ्सिरः बदलिँदो जीवनशैली, खानपानको गलत छनौट र आवश्यकताभन्दा बढी मानशिक तनावले मुटुसम्बन्धी रोगका बिरामीको संख्या विश्वमा बढ्दै गएको छ । नियमित शारीरिक व्यायामको अभाव त छँदैछ त्यसमा पनि फेशनेवल बनेको धुमपानले मुटु रोगले च्याप्नेहरुको संख्या बढेको अनुसन्धानकर्ताहरुको टिप्पणी छ । 

मुटु रोगका लक्षण  

  1. मुटुको चाल बढेको अनुभव हुन्छ । 
  2. रिंगटाले गर्दा बेहोस पनि हुन्छन् ।
  3. छाती दुखेको अनुभव हुन्छ ।
  4. सास फेर्न गाह्रो हुन्छ ।

मुटु मांसपेसीले बनेको एक कोमल अंग हो जसले शरीरको विभिन्न अंगमा रगत पम्प गरेर पठाउँछ । मुटुको रगत प्रवाह गर्ने धमनीमा जब अवरोध आउँछ जहाँ रक्तसञ्चार रोकिन्छ त्यहाँको मांसपेशी मर्न थाल्छ । त्यसले मुटुको काम गर्ने पक्रियामा अवरोध पुर्याउँछ र हृदयाघातले आक्रमण गर्छ । 

के कारणले मुटु रोग लाग्छ ?

  1. जन्मजात ।
  2. मुटुको संक्रमण । 
  3. हृदयाघातपछि मुटुको चालमा हुने गडबडी ।
  4. उमेरजन्य कारण ।

मुटु रोग लाग्ने निश्चित उमेर कहिँ कतै किटानी गरिएको छैन । यसले यो समूह भनेर आक्रमण गर्ने हुँदैन । जुनसुकै उमेर समूहका व्यक्ति यसबाट प्रभावित हुन सक्छन् । उमेरअनुसारका लक्षण समेत हुन्छन् नै । यसबाट जोगिनका लागि सबैभन्दा पहिला ध्यान दिनुपर्ने विषय बानीव्यहोरा र खानपान नै हो । बानीमा सुधार गरे मुटुरोगबाट बच्न सकिन्छ, अनुसन्धानकर्ता भन्छन् । 

  1. कोलस्टोर र मुटुको सम्बन्ध निकट हुने भएकाले यसको नियन्त्रण आवश्यक छ । कोलस्टोर बढेमा त्यसले मुटुमा असर पार्छ । 
  2. हाई ब्लड प्रेसर छ भने पनि नियमित औषधि सेवन गर्ने खानपिनमा ध्यान दिने र नियमित एक्सरसाइज गर्नुपर्छ । यसले हृदयाघातको जोखिम कम गर्छ ।
  3. हृदयाघातको अर्को कारण धूमपान पनि हो । जसले धूमपान जारी राख्छ उसलाई पुनः हृदयाघातको जोमिख उच्च हुने उल्लेख छ ।
  4. हृदयाघातको जोखिम कम गर्न आफ्नो तौलसमेत नियन्त्रणमा राख्न आवश्यक छ । आफ्नो लम्बाई र उमेरको आधारमा आवश्यक तौल पहिल्याएर तौल नियन्त्रणमा राख्नु बुद्धिमानी हुन्छ । 
  5. पसिना निस्कने गरी आधादेखि एक घण्टा नियमित एक्सरसाइज गर्दा त्यसले रक्त प्रवाहलाई सहज बनाउँछ । मोटोपना कम गर्छ । आयु बढाउँछ ।

अत्यधिक चिल्लो खाना, ड्राइफुडको नियमित सेवनले समेत हृदयाघातको जोखिम बढाउँछ । भिटामिन ई, मैगनिसियम, फाइवर, पोटासियम रहेको खानेकुरा खाने हो भने यसले हृदयाघातको जोखिम कम गराउँछ । तारेको खानेकुरा र नुनको मात्रा जति कम गर्नसक्यो उति उत्तम हुन्छ ।

हृदयाघातको अर्को कारक सुगर पनि हो । सुगरको रोगीले सुगरको मात्रा नियन्त्रणमा राख्न अपरिहार्य छ ।

जैतुनको तेल चयन राम्रो मानिन्छ । सकेसम्म थोरै तेलको प्रयोग मुटुको आयु बढाउन फाइदाजनक हुन्छ । 

गम्भीर अवस्थामा पुग्नुभन्दा अगाडि नै मुटुरोग छ या छैन भनेर पत्ता लगाउन सकिन्छ । परीक्षणमा लक्षण देखिए तत्काल उपचार गरेर गम्भीर अवस्था आउनु अगाडि नै नियन्त्रण गर्न सकिन्छ । रोग छिप्पिए उपचार कठिन र महँगोसमेत हुन्छ । 

मुटु रोगबाट जोगिने के उपाय छन् ?

  1. नियमित व्यायाम 
  2. सुगर कन्ट्रोल गर्ने
  3. मोटोपन कम गर्ने
  4. चिल्लो र नुन कम खाने
  5. धूमपान र मध्यपान नगर्ने, 
  6. रक्तचापलाई नियन्त्रणमा राख्ने ।

छाती दुख्ने, छातिमा बेचैनी हुने, ढक्क फुल्ने, गह्रौँ महसुस हुने जस्ता संकेत देखिए तत्काल अस्पताल गएर जचाउनु पर्छ । सास फेर्न गाह्रो भयो, चाँडै थकाइलाग्ने, केही बेर हिँड्दैमा अप्ठेरो हुने, जस्ता लक्षण छ भने चिकित्सकको सल्लाह लिन ढीला गर्नु हुँदैन । 

हात झमझमाउने, शरीरको कुनै भाग काँध, हात वा गर्धनको पछिल्लो भागले काम गर्न छाडेको जस्तो हुने, छुँदा थाहा नहुने भयो भने समेत चिकित्सकको सल्लाह लिनु आवश्यक छ । सचेत हुन मुटुको चालको परीक्षण बेलाबखत गरिरहनुपर्छ । सामान्यतयाः स्वस्थ मुटु एक मिनेटमा ६० देखि एक सय पटकसम्म धड्कन्छ । यसमा तलमाथि भयो भने जचाउनुपर्छ भन्ने सम्झनुपर्छ ।
वन्लीमाई हेल्थ डटकमको सहयोगमा ।