एनपीएलको नाममा कपिराइट दाबी गर्दै आमीर अख्तरले निकाले विज्ञप्ति

नेपाल प्रिमियर लिग (एनपीएल)को नाममा कपिराइट दाबी गर्दै आएका जोरा स्पोर्ट्स म्यानेजमेन्ट प्रालिका प्रमुख आमीर अख्तरले आज एक विज्ञप्ति जारी गरेका छन् । आफू क्रिकेटविरोधी नभएको र आफ्नो अधिकारका लागि लडिरहेको उनको प्रस्टीकरण छ ।

उनले नेपाल प्रिमियर लिगको लेटरहेडमा अख्तरले विज्ञप्ति निकालेका हुन् । नेपाल प्रिमियर लिग नामको कम्पनी आफ्नो नाममा रहेको र क्यानले एनपीएल घोषणा गरेलगत्तै यो कम्पनी सुम्पिन पत्राचार गरेको उनले बताएका छन् । ‘म आफैं एक अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी, क्रिकेट आयोजक र खेलकुद व्यवस्थापनमा संलग्न व्यक्ति भएकोले यसबाट पर्नसक्ने अप्ठेरोबारे मलाई थाहा थियो । म कुनै क्रिकेटविरोधी व्यक्ति होइन, तसर्थ एनपीएलको सफल आयोजना होस् भन्ने हेतुले मैले क्यानलाई पूर्वसूचना दिई त्यसमा सहजीकरण गर्नु आफ्नो कर्तव्य ठानें’, उनले भनेका छन् ।

‘मैले सोचेको थिएँ कि करोडौंको रकम संलग्न हुने र थुप्रै व्यक्ति जोडिएको विषयमा क्यान गम्भीर हुनेछ र समाधानको बाटोतिर अग्रसर हुनेछ, तर क्यानले पटकपटकको मेरो अनुरोधलाई बेवास्ता गर्‍यो । गम्भीर कानूनी विषयलाई पूरै नजरअन्दाज गर्‍यो ।’

कसैको नाममा रहेको कम्पनी र क्यानले जोरा स्पोर्ट्स म्यानेजमेन्टलाई एनपीएल आयोजना गर्न यसअघि नै दिएको अधिकार छिन्ने प्रयास हुनु भनेको कानूनतः गलत भएको उनको टिप्पणी छ । समाधानको पहल नगरिनु झनै गलत भएको अख्तरले बताएका छन् ।

‘तसर्थ म अदालतको ढोका ढक्ढक्याउन बाध्य भएको हुँ । सम्माननीय सर्वोच्च अदालतले नेपाल क्रिकेट संघलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको अवस्था छ । म अदालतको निर्णयको प्रतीक्षामा छु’, उनी भन्छन् ।अख्तरले एनपीएल रोक्न अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा मुद्दा हालेका थिए । सर्वोच्चले क्यानसँग यस विषयमा लिखित जवाफ मागेको छ । अन्तरिम आदेश दिन भने सर्वोच्चले अस्वीकार गरेको छ ।