कीर्तिपुरमा डरायो रास्वपा, सहकारी ठगी प्रकरणले जनमत खस्किएको हो ?
तनहुको उपनिर्वाचनमा स्वर्णिम वाग्ले सांसदमा विजयी भएपछि रास्वपामा एकाएक चमक देखियो। नागरिकता प्रकरणमा रवि लामिछानेको सांसद पद गएपछि भएको उपनिर्वाचनबाट रवि फेरि विजयी भए भने थप एक सिट बोनस आयो।
यही लहर समात्ने भन्दै गत वैशादमा भएको इलामको उपनिर्वाचनमा रास्वपा नराम्रोसँग हार बेहोर्न बाध्य भयो। मिलन लिम्बूले जमानतसमेत जोगाउन सकेनन्।
यो उपनिर्वाचनका बेला सहकारी प्रकरणले संसद तातेको थियो। तर, रास्वपा सभापति लामिछाने भने गृहमन्त्रीको कुर्सीमा थिए। हुन् त त्यतिखेर तत्कालीन महामन्त्री मुकुल ढकालले राजनीतिक, सैद्धान्तिक र संगठनात्मक क्षेत्रमा व्यापक सुधार नगरे पार्टीको भविष्य नै समाप्त हुन सक्ने चेतावनी दिएका थिए। उनले प्रतिवेदन नै बनाएर स्वतन्त्र पार्टीको मर्म हराएको, अन्य पार्टीभन्दा फरक हुन नसकेको, पुराना शक्तिसँगै सम्झौता गरेर अगाडि बढेको, सांसददेखि मन्त्रीसम्मको भूमिका कमजोर भएको भनेर निर्मम समीक्षा गरेका थिए।
त्यही कारण उनीमाथि कारबाही भयो। महामन्त्री पद खोसियो। अहिले रास्वपामा पनि छैनन् ।
६ महिनापछि फेरि स्थानीय तहमा उपनिर्वाचन हुँदैछ। आउदो १६ गते हुने उपनिर्वाचन अन्र्तगत देशका ३१ जिल्लामा गरि विभिन्न ४४ पदका लागि निर्वाचन हुदैछ ।
यीमध्ये सबैभन्दा चासोको निर्वाचन क्षेत्र हो, कीर्तिपुर नगरपालिका। रास्वपासँग सहरको मतदाताको आकर्षण छ भनिन्छ। तर, राजधानीमै मेयरका लागि भइरहेको उपनिर्वाचनमा भने रास्वपाले उम्मेदवारी नै दिएन। रास्वपाले कीर्तिपुरको मेयरका लागि उम्मेदवार छनोटसमेत गरेको थियो। तर, आइतबार मनोनयन दर्ताको दिन एकाएक ब्याक भयो। यसअघि रास्वपाले कीर्तिपुरमा जयराम कार्कीलाई उम्मेदवार बनाउने तयारी गरेको थियो। बरु स्वतन्त्र उम्मेदवारलाई सघाउनेबारे छलफल भइरहेको छ। कीर्तिपुरमा सम्मानजनक मतसमेत नआउने र यो मतपरिणामले रास्वपाको क्रेज घटेको अर्थमा प्रचार हुने भएपछि रास्वपा ब्याक भएको हो। खासमा रास्वपा सभापति रवि सहकारी ठगी प्रकरणमा मुछिएपछि जनआक्रोश बढ्दो छ। उनी पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा छानबिनका लागि २ कात्तिकदेखि प्रहरी हिरासतमा छन्। कीर्तिपुर मेयरमा हारेमा त्यसको असर आगामी ८४ को निर्वाचनमा पनि पर्ने भएकाले रास्वपा ब्याक भएको हो।
बरु रास्वपाले हुम्लामा फन्डा गरेको छ।
हुम्लाको सर्केगाड गाउँपालिकामा आफ्नो उपाध्यक्ष पदका उम्मेदवारलाई अपहरण गरिएको भन्दै कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्ति नै निकाले। आफ्ना उम्मेदवार सुजाता थापालाई उम्मेदवारी नदिन धम्क्याएको भन्दै आइतबार निर्वाचन आयोगमा निवेदनसमेत दिइयो।
तर, जिल्ला प्रहरी कार्यालय, हुम्लाका प्रमुख डीएसपी रवीन्द्र खनालले भने थापालाई अपहरण गरिएको पुष्टि नभएको बताए। थापाले आफूहरु सहमतिमै फर्किएको बताएकी छन्।
आइतबार दिउँसो फोनमा सम्पर्क गर्दा पनि थापाले आफू श्रीमान्सँगै घरमा रहेको जानकारी गराएको प्रहरीले जनाएको छ । थापाका ससुरा कांग्रेस ४ नम्बर वडाको वडा सभापति हुन्।
सर्केगाड गाउँपालिकामा यसअघि निर्वाचित उपाध्यक्ष चन्द्र सिंह कार्कीको ८ भदौ २०८१ मा सवारी दुर्घटनामा मृत्यु भएको थियो । उनी नेकपा माओवादी केन्द्रबाट विजयी भएका थिए।
हुन् त ४४ ठाउँमा उपनिर्वाचन भइरहेका बेला रास्वपाले २६ ठाउँमा मात्र उम्मेदवारी दिएको छ। दुई जिल्ला समन्वय समितिमा उम्मेदवारी नै दिएन, किनकी स्थानीय तहमा उसको प्रतिनिधित्व छैन। यो हिसावले ठिक छ। तर, स्थानीय तहका कतिपय अध्यक्ष, उपाध्यक्षमा पनि उम्मेदवार छैन। सप्तरीको डाक्नेश्वरी गाउँपालिका अध्यक्ष,गौरिशंकर गाउँपालिका उपाध्यक्ष,पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष र स्वामिकार्तीक खापर गाउँपालिका उपाध्यक्षमा रास्वपाका उम्मेदवार छैनन्। त्यसबाहेक कतिपय पालिकाका वडाध्यक्ष र सदस्यमा पनि उम्मेदवारी छैन।
प्रतिक्रिया