‘ह्रस्व दीर्घ’को दुई दिनकाे ग्रस कमाइ २ करोडभन्दा माथि

 चलचित्र ‘ह्रस्व दीर्घ’ले घरेलु बक्स अफिसमा सुखद सुरुवात गरेको छ । मुलुकभरका करिब १५० हलमा प्रदर्शनमा आएको यस चलचित्रले दुई दिनमा २ करोडभन्दा माथि गरेको छ ।

वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार ‘ह्रस्व दीर्घ’ले पहिलो दिन शुक्रबार ८० लाख र दोस्रो दिन शनिबार १ करोड २० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । वितरण कम्पनीका अनुसार चलचित्रले आइतबार पनि उत्साहजनक कलेक्सन गरेको दाबी छ ।

चलचित्र ‘ह्रस्व दीर्घ’को निर्माण लागत ६ करोड रहेको जनाइएको छ ।चलचित्रको कथावस्तु, कलाकारहरूको अभिनय, द्वन्द्व र निर्माण पक्षलाई दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् । विशेष गरी सिनेमाको ट्विस्ट र थ्रिलले दर्शकलाई आकर्षित गरेको देखिएको छ ।

प्रदर्शनको दिनदेखि काठमाडौंमा विभिन्न हल पुगिरहेका कलाकारदेखि निर्देशकलाई दर्शकहरुले सिक्वेल बन्नुपर्ने माग समेत गरेका छन् । शनिबार हल भिजिटको क्रममा अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले सिक्वेल बन्न सक्ने संकेत गरिन् । सिक्वेल बनेको खण्डमा सबै कलाकार दोहोरिने र नयाँ कथामा बन्ने उनको भनाई छ । सिक्वेलको कथा निकै रोचक रहेको उनी बताउँछिन् ।

यता, चलचित्रप्रति दर्शकलाई थप आकर्षित गर्न निर्माण टिमले मुख्य कलाकार प्रदीप रावत (गजनी भिलेन)लाई काठमाडौं बोलाएको छ । कयौं साउथ र बलिउड सिनेमामा काम गरिसकेका उनी श्रीमती कल्याणीसहित आइतबार दिउँसो काठमाडौं ओलिँएका छन् ।

रावत चारदिन नेपाल रहने र त्यो समयमा हल-हलमा पुगेर दर्शकसँग भेट गर्ने कार्यक्रम रहेको जानकारी प्राप्त छ । कलाकार रावत ‘ह्रस्व दीर्घ’मा नीताको बुबाको भूमिकामा छन् ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण गरिएको यस चलचित्रका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रको कथा हरिहर अधिकारीले तयार पारेका हुन् भने पटकथा र संवादमा प्रतीक पौडेल, चन्द्र पन्त, र हरिहर अधिकारीले योगदान गरेका छन् । सिनेमाको छायांकन बलिउडका ख्यातिप्राप्त सिनेमाटोग्राफर कवीरलालले गरेका हुन् ।

यस चलचित्रको निर्देशन चन्द्र पन्तले गरेका हुन् । यो चलचित्र पन्तको नेपाली सिने क्षेत्रमा निर्देशनको पहिलो प्रयास हो । उनले यसअघि भोजपुरी चलचित्र निर्देशन र ५० भन्दा बढी नेपाली चलचित्रमा द्वन्द्व निर्देशकका रूपमा काम गरिसकेका छन् ।

‘ह्रस्व दीर्घ’ ले आफ्नो कथावस्तु र प्रस्तुतीकरणले दर्शकको मन जित्न सफल हुँदै नेपाली चलचित्र क्षेत्रमा सकारात्मक प्रभाव पार्ने संकेत देखाएको छ ।