कास्की थुनामा रहेका कुमार रम्तेललाई काठमाडौँ ल्याइयो

कारागार कार्यालय कास्कीमा थुनामा रहेका कुमार रम्तेललाई प्रहरीले काठमाडौँ ल्याएको छ । सूर्यदर्शन सहकारीको कोषाध्यक्ष रम्तेल बचतकर्ताको रकम अपचलनमा संलग्न आरोपमा जिल्ला कारागार कास्कीमा थुनामा थिए ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे अनुसन्धान गर्न उनलाई काठमाडौँ ल्याएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । ओखलढुंगा घर भएका रम्तेल स्वर्णलक्ष्मी सहकारीका पनि कोषाध्यक्ष हुन् ।स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्कमा १ करोड ८२ लाख अवैध तरिकाले लगेर अपचलन गरेको भेटिएको छ । ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् ।

रम्तेल जीबी राईको आर्थिक हेर्ने मुख्य व्यक्ति हुन । उनी गोरखा मिडिया नेटवर्कमा पनि सेयर होल्डर थिए । कार्तिक २८ मा काठमाडौँ ल्याएर प्रहरीले उनीसँग बयान लिइरहेको छ ।स्वर्णलक्ष्मीको रकम अपचलन गरेको आरोपमा रास्वपाका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले दुवैलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँलाई अनुमति दिएका हुन् ।

लामिछाने र जोशी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । स्वर्णलक्ष्मीको रकम अपचलन गरेको आरोपमा काठमाडौँ प्रहरीले कमल लामा र सुनिता नेवालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेसहित करिब दुई दर्जनविरुद्ध पक्राउ पुर्जी आएको छ ।