वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु
सरकारविरुद्ध पत्रकार सम्मेलन गर्ने अधिकार कुलमानलाई कसले दियो ?
मन्त्रिपरिषद्को बैठकले उद्योगहरूको बिजुली जोड्न र प्रमाणमा टेकेर बिलअनुसार बक्यौता उठाउन निर्देशन दिएपछि त्यसको अक्षरशः कार्यान्वयन गर्नुपर्ने मातहतका निकायको दायित्व हो । तर पूर्ण सरकारी स्वामित्वको संस्थान नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भने उल्टै सरकारका विरुद्धमा वक्तव्यबाजी गर्दै हिँडेका छन् । उनी एक व्यवस्थापक वा कर्मचारीको दर्जामा बस्न मानिरहेका छैनन् । एक राजनीतिक दलको अराजक नेतासरह प्रस्तुत भइरहेका छन् । प्रधानमन्त्री र विभागीय मन्त्रीसँग मुखमुखै लागिरहेका छन् । कात्तिक २८ गते अर्थात् गत बुधबार घिसिङले भएभरका मिडिया बोलाएर सरकारविरुद्ध अभिव्यक्ति दिए । सरकारको निर्णय गलत र आफू सही रहेको भन्दै गर्दा उनले आफूलाई गलत लागेको निर्णय कार्यान्वयन पनि गरेको बताए । यदि उनलाई गलत लागेको हो भने त्यो गलत निर्णय किन कार्यान्वयन गरे ? अख्तियार वा महालेखाले प्रश्न उठाए उनले के भन्छन् अब ? उक्त निर्णय गलत भए पनि सरकारको दबाबमा गरेको भनेर उनले छुट पाउँछन् ?
https://barnanmedia.com/news/detail/203486/
इजरायली हमलामा हिजबुल्लाहका प्रवक्ताको मृत्यु
सिरियाली बाथ पार्टीको लेबनानी शाखामा आइतबार मध्य बेरुतमा भएको इजरायली हमलामा हिजबुल्लाहका प्रवक्ता मोहम्मद अफिफ मारिएको लेबनानी सुरक्षा स्रोतले जनाएको छ । “रास अल–नबामा भएको आक्रमणमा हिजबुल्लाह मिडिया सम्बन्ध अधिकारी मोहम्मद अफिफको मृत्यु भएको छ”, सुरक्षा स्रोतले नाम नछाप्न अनुरोध गर्दै भन्यो । बाथ पार्टीको लेबनानी शाखाका महासचिव अली हिजाजीले ‘हिजबुल्लाह मिडिया अधिकारी अफिफको मृत्यु भएको पुष्टि गर्नुभएको’ आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले जनाएको छ । इजरायली सेनाले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा एक जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएको उल्लेख गर्दै मृतकको सङ्ख्या अस्थायी रहेको र आक्रमण स्थलबाट भग्नावशेष हटाउने काम जारी रहेको बताएको छ ।
कीर्तिपुर प्रमुखमा २० जनाको उम्मेदवारी
कीर्तिपुर नगरपालिका प्रमुखमा आइतबार २० जनाको उम्मेदवारी परेको छ। कीर्तिपुरका निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार प्रमुख पदमा नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा (एमाले) का डा. सुरेन्द्र मानन्धर, नेकपा (माओवादी केन्द्र) का डा. शिवशरण महर्जनले उम्मेदवारी दर्ता गर्नुभएको छ। यसैगरी, नेपाल समाजवादी पार्टीका दिल कुमार महर्जन, नेपाल मजदुर किसान पार्टीका श्रीकृष्ण महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ध्रुव महर्जन, जनता समाजवादी पार्टीका दीपक महर्जन, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)का सुरेन्द्र मानन्धर र जनमत पार्टीका केशव श्रेष्ठले नगरप्रमुखमा उम्मेदवारी दर्ता गर्नुभएको छ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक
सिद्धार्थ बैंक लिमिटेड नेपाल प्रिमियर लिगको मुख्य प्रायोजकको रुपमा आबद्ध भएको छ । क्रिकेट संघ नेपाल (क्यान) द्वारा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग २०२४ देखि २०२९ सम्म (५ वर्ष)को मुख्य प्रायोजकको रुपमा आबद्ध भएको हो । क्यानले कार्तिक ३० गते क्यानका पदाधिकारीहरू, बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडिया, सञ्चालक समितिका सदस्यहरू, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल, व्यवस्थापन समूह, बैंकको भगिनी संस्थाका अध्यक्षहरू र प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक सार्वजनिक गरेको थियो ।सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको प्रथम संस्करण आगामी मंसिर १५ देखि पौष ६ गतेसम्म कीर्तिपुर स्थित टी.यू अन्तर्राष्ट्रिय मैदानमा हुने भएको छ ।
माओवादीले बोलायाे पदाधिकारी बैठक
नेकपा माओवादी केन्द्रले सोमबार पदाधिकारी बैठक बोलाएको छ। केन्द्रीय समिति बैठकको तयारीका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। गत कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठक पुस २ देखि ७ गतेसम्म बस्ने निर्णय गरेको थियो। थप छलफलका लागि मंसिर ३ गते पदाधिकारी बैठक बोलाउने निर्णय गरेको थियो। बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको छ। बैठकमा स्थानीय तह उपनिर्वाचन, विधान संशोधनलगायत विषयमा पनि छलफल हुन सक्ने नेताहरूले बताएका छन्।
तनहुँ बस दुर्घटना अपडेट : चालकको मृत्यु, यी हुन् घाइते(नामसहित)
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ गोरचौतारामा आज भएको बस दुर्घटनाका घाइतेमध्ये एक चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बस चालक तनहुँको ऋषिङ पाटन घर भई हाल कास्कीको चाउथे बस्ने ३९ वर्षीय रामबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पोखराबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ३४८७ नंको बस र काठमाडौंबाट पोखरा आउँदै गरेको गण्डकी जिएए ००७० नंको बस एकापसमा ठोक्किएका थिए। दुर्घटामा जिएए बसका चालक परियारको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।
रास्वपाले देशभर उठायो २६ उम्मेदवार (सूचीसहित)
राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपचुनावमा देशभर २६ पदमा उम्मेदवारी दिएको छ। रास्वपाको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितका संयोजक गणेश पराजुलीका अनुसार देशभरका विभिन्न २६ क्षेत्रमा उम्मेदवारी दर्ता गराइएको हो। रास्वपाले काठमाडौँको कीर्तिपुरमा भने मेयर र वडाध्यक्ष कुनैमा पनि उम्मेदवारी दिएन्। रास्वपा काठमाडौँ जिल्ला सभापति प्रदीप बिष्टका अनुसार राम्रो उम्मेदवार नपाइएकाले त्यहाँ उम्मेदवारी नदिइएको हो।
इरानका सर्वोच्च नेता खामेनीले छोरालाई मोज्ताबा खामेनीलाई आफ्नो बनाए उत्तराधिकारी
इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले आफ्ना छोरा मोज्ताबा खामेनीलाई आफ्नो उत्तराधिकारी बनाएका छन् । ५५ वर्षीय खामेनीले शारीरिक अस्वस्थताका कारण यो निर्णय लिएको केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन् । यद्यपि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन । विभिन्न रिपोर्टका अनुसार इरानको एक्सपर्ट एसेम्बलीले सेप्टेम्बर २६ मा नै नयाँ सर्वोच्च नेता चयन गरेको थियो। खामेनी आफैंले सभाका ६० सदस्यलाई बोलाएर उत्तराधिकारीको बारेमा गोप्य रूपमा निर्णय गर्न भनेका थिए। सभाले मुज्ताबाको नाम सर्वसम्मतिले पारित गरेको थियो ।
अल्लु अर्जुन अभिनित ‘पुष्पा २’ को ट्रेलर सार्वजनिक
अल्लु अर्जुन र रश्मिका मन्दाना स्टारर बहुप्रतीक्षित भारतीय फिल्म ‘पुष्पा २ : द रुल’को ट्रेलर सार्वजनिक भएको छ । यो एक्सनप्रधान ट्रेलरमा अल्लु अर्जुन पुष्पराजको भूमिकामा देखिएका छन् । रिर्पोटका अनुसार आइतबार नेपाल सीमावर्ती भारतको बिहारको पटनास्थित गान्धी मैदानमा आयोजित भव्य समारोहमा ट्रेलर सार्वजनिक गरिएको हो । सुपरस्टारद्वय अल्लु अर्जुन र रश्मिकाको उपस्थितिमा एक्सनप्रधान ट्रेलर प्रस्तुत गरिएको हो ।
ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा १६ जनाकाे मनोनयन
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा १६ जनाकाे मनोनयन परेको छ । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आइतबार राजनीतिक दलबाट १५ र एक स्वतन्त्र उमेदवारको मनोनयन परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत रामराज पौडेलले आज बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गराइएको बताए । उनका अनुसार, गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)बाट तुलसीराम विश्वास, नेकपा (माओवादी केन्द्र)बाट नमोनारायण माझी र नेपाली कांग्रेसबाट बलराम सरदारको मनोनयन परेको छ ।
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि आज चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त छलफलमा सरकारी मेडिकल कलेजमा क्षमता भएबमोजिम विद्यार्थीको सिट सङ्ख्या निर्धारण तथा निजी मेडिकल कलेजमा तोकेबमोजिम शुुल्क र छात्रवृत्ति व्यवस्थापन गर्न राय परामर्श गरिएको थियो । स्वदेशभित्रै सहज र गुणस्तरीय रूपमा चिकित्सा शिक्षा उपलब्ध गराउन तथा उत्पादित दक्ष जनशक्तिलाई स्वास्थ्य संस्थामा रोजगारीको वातावरण सृजना गरी मुलुकको समृद्धिमा कसरी योगदान दिन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको थियो ।
कीर्तिपुरमा वडाध्यक्षबाटै उपप्रमुखमाथि हातपात, कार्यालयमा तोडफोड
कीर्तिपुर नगरपालिकाकी कार्यवाहक मेयर शुभलक्ष्मी शाक्यमाथि त्यही नगरपालिकाको वडा नं ३ का वडाध्यक्ष सुवीन्द्र महर्जनले हातपात गर्नुका साथै कार्यकक्षमा तोडफोडसमेत गरेका छन्। नगरपालिकाका सम्पर्क शाखा अधिकृत सुजीन्द्र महजर्नले वडाध्यक्षले हातपात र तोडफोड गरेको जानकारी दिए। त्यसको कारण खुल्न नसके पनि राजनीतिक कारण भने नभएको उनको भनाइ छ। वडाध्यक्ष मर्हजनले दिउँसो साढे २ बजेतिर कार्यालय पुगेर कार्यवाहक मेयरमाथि हातपात गरेका हुन्। वडाध्यक्ष महर्जनले भने हातपात नगरेको दाबी गरेका छन्। वडाध्यक्षहरूलाई समय नदिएको र कार्ययोजनामा छलफल गर्न बोलाएर कुराएको कारण केही विवाद भएको उनको दाबी छ। उनले भने, ‘हामी वडाध्यक्षहरूलाई त बोलाएर यसरी कुराउनुहुन्छ भने अरू सेवाग्राहीलाई के गर्नुहुन्छ होला? जनताका काममा उहाँले कति बेवास्ता गर्नुहुन्छ होला?’
रुसले युक्रेनमाथि सेप्टेम्बर महिनापछिकै गर्याे सबैभन्दा ठूलो आक्रमण
रुसले युक्रेनमाथि सेप्टेम्बर महिनापछिकै सबैभन्दा ठूलो आक्रमण गरेको छ । गएराति रुसले युक्रेनका कैयौं ठाउँमा मिसाइल र ड्रोन प्रहार गरेको बीबीसीले जनाएको छ । यो आक्रमणमा रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै जेनेरेटर र ट्रान्समिसन स्टेशनलाई निशाना बनाएको छ । यसले गर्दा धेरै ठाउँ बिजुलीविहीन बनेका छन् । रुसी आक्रमणका कारण राजधानी किभसहित तीन वटा क्षेत्रमा बिजुली सेवा अवरुद्ध भएको युक्रेनको सबैभन्दा ठूलो ऊर्जा प्रदायकले जनाएको खबरमा उल्लेख छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले १ सय २० वटा मिसाइल र ९० वाट ड्रोन आक्रमण गरेको बताउनुभएको खबरमा उल्लेख छ । युक्रेनको आपत्कालीन सेवाका अनुसार रुसी आक्रमणमा दुई जना महिलाको ज्यान गएको छ भने दुई बालबालिकासहित ६ जना घाइते भएका छन् ।
परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
नेपाल परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा चितवनका डा राजेन्द्रबहादुर श्रेष्ठ विजयी हुनुभएको छ । बागलुङबजारमा सम्पन्न ४२औँ केन्द्रीय सभामा अध्यक्ष पदमा चारजना प्रतिस्पर्धा रहेका थिए । अधिवेशनमा देशभरका २७ शाखाका प्रतिनिधि र पर्यवक्षेकहरूको सहभागिता रहेको थियो । निर्वाचनको मत परिणामअनुसार डा राजेन्द्रबहादुर श्रेष्ठ र निरन्जनप्रसाद श्रेष्ठले बराबर मत प्राप्त गर्नुभएको थियो । श्रेष्ठ गोलाप्रथाबाट चयन हुनुभएको हो । दुवै जनाले १०÷१० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत भूमिश्वर गौतमले जानकारी दिनुभयो । अध्यक्षका अन्य प्रत्याशी मनोजप्रसाद उप्रेतीले पाँच र डा किरण रेग्मीले दुई मत प्राप्त गर्नुभएको थियो । यस्तै, कोषाध्यक्षमा निर्माणकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी जनकराज जोशीलाई दुई मतले हराउँदै श्रेष्ठ कोषाध्यक्षमा निर्वाचित हुनुभएको हो । श्रेष्ठले १२ मत प्राप्त गर्दा प्रतिस्पर्धी जोशीले १० र सुरेन्द्र बस्नेतले पाँच मत मात्र प्राप्त गर्नुभएको थियो ।
राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार देशका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा रीता धिताल (इस्लामिक गणतन्त्र पाकिस्तान), रमेशचन्द्र पौडल (कतार), प्रा धनप्रसाद पण्डित (इजरायल) र प्राडा कृष्णप्रसाद ओली (जनवादी गणतन्त्र चीन)का लागि नवनियुक्त राजदूतले शपथ ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । उक्त अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको समेत उपस्थिति थियो ।
तनहुँमा दुई बस ठोक्किए : एक जनाको मृत्यु, ३० घाइते
तनहुँमा दुई यात्रुबहाक बस आपसमा ठोक्किर दुर्घटना भएको छ । दुर्घटनामा एक चालकको मृत्य भएको छ भने ३० यात्रु घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिकामा–५ नयाँ पुल गोरेचौतारामा दुई यात्रुबाहक बस ठोक्किएका हुन् ।जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी अशोक थापाका अनुसार गण्डकी जिएए ००७० नम्बरको बस र भे १ ख ३४८७ नम्बरको बस आपसमा ठोक्किएका हुन् । जस क्रममा जिएए ००७० नम्बरको बसका चालक तनहुँकै ऋषिङ पाटन घरभएका ३९ वर्षीय रामबहादुर परियारको मृत्यु भएको थापाले बताए ।
प्रतिक्रिया