छात्राको मृत्युपछि इटहरीमा तनाव, स्थानीय आक्रोशित

कोशी राजमार्ग अन्तर्गत इटहरी-१० खनारको शान्ति चोकमा आइतबार अपराह्न बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ।

जनता माध्यमिक विद्यालय इटहरी कक्षा ९ मा अध्ययन गर्ने १४ वर्षे सम्झना यादवको मृत्यु भएपछि अपराह्न ४ बजेदेखि स्थिति तनावग्रस्त बनेको हो।इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकलमा सवार स्कुले विद्यार्थी यादवको घटनास्थलमै मृत्यु भएको थियो।

सम्झनाको मृत्यु भएपछि बस भाग्ने क्रममा खनार चोकमा स्थानीयले आगजनी गरेकाले स्थिति तनावग्रस्त बनेको हो। खनार चोकमा ट्राफिक प्रहरी रहेको र तत्काल अरु क्षेत्रबाट पनि ठूलो संख्यामा प्रहरी परिचालन गरेपछि बस जलेर पूर्ण रुपमा क्षति भएता पनि अरु क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनायो।

आक्रोशित भएका स्थानीयले गाडी तोडफोड र चालकलाई नियन्त्रणमा लिने प्रयास गरेपछि स्थिति तनावग्रस्त बनेको हो। दुर्घटना गराउने बसका चालक अमित श्रेष्ठलाई प्रहरीले एउटा घरमा लुकाएर सकुशल राख्न सफल भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी प्रवक्ता रामप्रसाद तिमल्सिनाले बताए। अहिले ती चालक श्रेष्ठलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ।

डिएसपी तिमल्सिनाका अनुसार स्थानीयले मृतक सम्झनाको शव समेत चार घण्टासम्म नियन्त्रणमा लिएर राखेका थिए। राति ८ बजेपछि भने प्रहरीले बल प्रयोग गरि आफ्नो नियन्त्रणमा लिएर पोष्टमार्टम गर्न कोशी अञ्चल अस्पताल विराटनगर लगिएको छ।

आक्रोशित स्थानीयले जथाभाबी सवारी साधन र प्रहरीलाई ढुंगामुढा प्रहार गरेकाले प्रहरीले केही राउन्ड अश्रुग्याँस प्रहार गरेको डिएसपी तिमल्सिनाले बताए। उनका अनुसार केही प्रहरी समेत घाइते भएका छन्।

स्थानीयको अवरोधले गर्दा कोशी राजमार्ग भएर चल्ने सवारी साधन ठप्प भएका छन्। विराटनगरबाट इटहरी भएर छुट्ने सवारी साधन दुहबीमा रोकिएका छन् भने इटहरीबाट विराटनगरतर्फ जाने सवारी साधन वैकल्पिक मार्ग भएर गुडेका छन्।