ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा १६ जनाकाे मनोनयन
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा १६ जनाकाे मनोनयन परेको छ । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आइतबार राजनीतिक दलबाट १५ र एक स्वतन्त्र उमेदवारको मनोनयन परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन अधिकृत रामराज पौडेलले आज बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गराइएको बताए । उनका अनुसार, गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)बाट तुलसीराम विश्वास, नेकपा (माओवादी केन्द्र)बाट नमोनारायण माझी र नेपाली कांग्रेसबाट बलराम सरदारको मनोनयन परेको छ ।
यसैगरी, नेपाल मजदुर किसान पार्टीबाट पर्शुराम विश्वास थारू, मंगोल नेसनल अर्गनाइजेसनबाट भरत राई, नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझीले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन् । राप्रपाका तर्फबाट दिनेशकुमार थन्दार र रास्वपाबाट नवीनकुमार चौधरी विश्वासको मनोनयन परेको छ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट धर्मेन्द्रकुमार चौधरीले मनोनयन दर्ता गराएका छन् ।
नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा (एकीकृत समाजवादी)बाट दिलबहादुर विश्वकर्मा र कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहरले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । जसपा नेपालबाट सुरेशकुमार राजवंशी, समावेशी समाजवादी पार्टी नेपाल पार्टीबाट बोधनारायण माझीले मनोनयन दर्ता गराका छन् । एमालेबाट असन्तुष्ट नमनारायण चौधरीले स्वतन्त्र उमेदवारी दिएका छन् ।
०७९ सालको स्थानीय तह चुनावबाट ग्रामथानको अध्यक्षमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । उनको गत असार ३ गते मृत्यु भएको थियो ।
प्रतिक्रिया