बंगलादेश-पाकिस्तानको नयाँ समुद्री सम्पर्कले भारतमा चिन्ता र चासो

 पूर्वप्रधानमन्त्री शेख हसिनाले बङ्गलादेश छाडेपछि उत्पन्न भइरहेका घटनाक्रमहरूलाई भारतीय दृष्टिकोणले राम्रो मानिएको छैन । गत बुधबार पाकिस्तानी कार्गो पानीजहाज कराँचीबाट जलमार्ग हुँदै बंगलादेशको दक्षिणपूर्वी तटमा रहेको चटगाउँ बन्दरगाहमा पुगेको थियो।

सन् १९७१ मा बंगलादेश पाकिस्तानबाट स्वतन्त्र भएपछि दुई देशबीच भएको यो पहिलो सामुद्रिक सम्पर्क हो। यसअघि दुई देशबीचको सामुद्रिक व्यापार सिंगापुर वा कोलम्बो भएर हुने गरेको थियो ।

यसबारेमा पाकिस्तानको एक उच्च आयोगले भनेको छ, ‘पाकिस्तानको कराँचीबाट सिधै बंगलादेशको चटगाउँ बन्दरगाहमा कार्गो जहाज पुगेको यो पहिलोपटक हो र यसले द्विपक्षीय सम्बन्धमा महत्त्वपूर्ण कदमको सुरुवात गरेको छ। यो नयाँ मार्गले आपूर्ति शृङ्खलालाई अझ सरल बनाउने, यातायातको समय घटाउने र दुवै देशका लागि नयाँ व्यापार अवसरहरूको ढोका खोल्ने छ।’ वास्तवमा, यो प्रत्यक्ष समुद्री सम्पर्कले पाकिस्तान र बंगलादेशबीचको परम्परागत रूपमा जटिल कूटनीतिक सम्बन्धमा ऐतिहासिक परिवर्तन ल्याउने संकेत गरेको छ ।

साथै, भारतसँग मित्रवत रहेको मानिने शेख हसिना सरकारलाई हटाएर बंगलादेशमा सत्तामा आएको मोहम्मद युनुसको नेतृत्वमा बनेको नयाँ अन्तरिम सरकारमा पाकिस्तानसँगको सम्बन्धमा न्यानोपन आउने संकेत देखिएको छ । यही बीचमा यी घटनाहरूले भारतमा चिन्ता बढाएको छ । हसिना पदच्युत भएर नयाँ सरकार आएपछि भारत र बंगलादेशसँगको सम्बन्ध भारतको सम्बन्ध चिसिएर अहिलेसम्मकै खराब अवस्थामा पुगेको छ।

शेख हसिनालाई सत्ताबाट हटाएपछि इस्लामाबाद र ढाका दुवैले आपसी सम्बन्ध सुधार्ने कुरा गरेको बीबीसी हिन्दीले जनाएको छ । यसै वर्षको सेप्टेम्बरमा न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसंघको महासभाको बैठकमा बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुस र पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफबीच भेटवार्ता भएको थियो र दुई देशबीचको ‘द्विपक्षीय सहयोगलाई पुनर्जीवित गर्ने’ कुरामा जोड दिइएको थियो ।

न्युयोर्कमा युनुसले भनेका थिए, ‘हाम्रो सम्बन्धलाई पुनरुत्थान गर्न निकै जरुरी छ । उनले विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धि गर्न दुई देशबीचको सम्बन्धमा ‘नयाँ अध्याय सुरु गर्ने’ पनि बताएका थिए ।