फिल्म ‘ह्रस्व दीर्घ’लाई गिराउनका लागि गिरोह नै सक्रिय भयाे : नीता ढुंगाना

नायिका नीता ढुंगानाले आफूले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’लाई गिराउनका लागि गिरोह नै सक्रिय भएको गुनासो गरेकी छिन् । सामाजिक संजालमा लाइभ गर्दै नीताले फिल्मलाई नराम्रो भन्दै हिँड्ने गिरोह सक्रिय भएको उल्लेख गरेकी हुन् । 

नीताले सामाजिक संजालमा भनेकी छिन्–‘हलमा पुगेर फिल्म राम्रो छै भन्दै हिँड्ने, सामाजिक संजालमा हाम्रो फिल्मको बारेमा झुटो प्रचार गर्ने मानिसहरू सक्रिय भएका छन् । आम दर्शकले फिल्म निकै मन पराउनुभएको छ । हामीसँगै दर्शक हाँस्नु भएको छ, रुनु भएको छ । तर, फिल्मको बारेमा झुटो प्रचार गर्न केही मानिसहरू सक्रिय भएका छन् ।’

नीताले अर्को फिल्मलाई राम्रो भन्ने तर हाम्रो फिल्मलाई नराम्रो भन्दै निरन्तर प्रहार भइरहेको गुनासो गरेकी छिन् । उनले भनिन्–‘कतिपय मानिसहरू मलाई किन बोलेको भन्छन् ? म बोलेको, म हाँसेको पनि कतिपयलाई मन परेको छैन । उनीहरू ह्रस्व दीर्घको बारेमा झुटो प्रचार गर्दै दर्शक भड्काइरहेका छन् ।’

नीताले आफूलाई अरु फिल्म चलेकोमा कुनै पनि डाहा नभएको भन्दै आफ्नो फिल्ममाथि आक्रमण नगर्न आग्रह गरेकी छिन् । सामाजिक संजालमा लाइभ आएकी नीताले थुप्रै आइडी देखाउँदै निरन्तर रुपमा फिल्ममाथि प्रहार गरिएको गुनासो गरिन् । 

उनले, दर्शकले फिल्म मन पराएका कारण झुटा प्रचार र समीक्षामा विश्वास नगर्न पनि आग्रह गरेकी छिन् । 

चन्द्र पन्तको निर्देशनमा नीता ढुंगानाको लगानी रहेको यो फिल्मले शुक्रबार र शनिबार आक्रामक व्यापार गरेको छ ।