चन्द्रविनायक र भैरवनाथ जात्रा घुमाइयो
काठमाडौँ, १ मङ्सिर : चन्द्रविनायक तथा भैरवनाथ जात्राको दोस्रो दिन अर्थात् मार्गशीर्ष कृष्ण प्रतिपदामा आज दुवै रथलाई मन्दिर वरपर घुमाई गङ्गाहिटीमा लगेर स्नान गराइएको छ । स्नानपछि दुवै खटलाई आज बेलुकी नै चारुमती विहारमा लगेर बिसाइएको थियो ।
पशुपतिनाथ अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले कार्तिक शुक्ल पूर्णिमाका दिन शुक्रबार बिहान चन्द्रविनायक मन्दिरमा विशेष पूजा गरेपछि जात्रा सुरु भएको हो । त्यस दिन बेलुकी मन्दिर परिसरमा धुनी जगाइयो । धुनी जगाउन पशुपतिनाथ अमालकोट कचहरीले दाउरा उपलब्ध गराउने परम्परा छ ।
जात्रा करिब साढे तीन सय वर्ष पुरानो भएको विश्वास गरिन्छ । नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले यो जात्राको सुरुआत गराएको स्थानीयवासीको भनाइ छ । चन्द्रविनायक तथा भैरवनाथको रथयात्रा कार्तिक शुक्ल पूर्णिमा अर्थात् शुक्रबारदेखि सुरु भएको हो ।
जात्राको पहिलो दिन ‘मलजा नकेगु’ कुमारकुमारीको पूजा गरेर विनायकको प्रसाद खुवाइएको थियो । चन्द्रविनायक उपत्यकाका चार विनायकमध्ये एक हो । चन्द्रविनायकलाई पशुपतिनाथको छोरा हो भन्ने धार्मिक मान्यता पनि छ । यसै मान्यताका आधारमा चन्द्रविनायक जात्रालाई पशुपतिनाथ मूल मन्दिर पनि घुमाइन्छ ।
मार्ग शीर्ष कृष्ण द्वितीयाका दिन आइतबार दुवै रथलाई पशुपतिमा लगी पिताको दर्शन गराइन्छ । दर्शनपछि पशुपतिबाट चुच्चेपाटीसम्मका मूल चोकहरुमा घुमाउने कार्यक्रम रहेको जात्रा समन्वय समिति सदस्य राजु भारतीले राससलाई जानकारी दिनुभयो । यो जात्रा पशुपतिनाथबाट चुच्चेपाटीसम्म महत्वका साथ मनाइन्छ ।
मार्गशीर्ष कृष्ण तृतीयाका दिन अमालकोट कचहरीका द्वारेले अबिर चढाएपछि जात्रा सम्पन्न हुन्छ । कार्तिक शुक्ल पूर्णिमाका दिन सुरु भएको जात्रा चन्द्रविनायक र भैरवनाथलाई अबिर चढाएपछि मार्ग शीर्ष कृष्ण तृतीयाका दिन सकिने परम्परा छ । जात्रा सफलतापूर्वक समापन भएको खुसियालीमा चाबहिल क्षेत्रमा सिन्दूर जात्रा गर्ने परम्परा रहिआएको छ ।
जात्रा कार्तिक शुक्ल पूर्णिमामा चाबहिल क्षेत्रमा सुरु भएको थियो । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म चार दिन पशुपति, जयवागेश्वरी, मित्रपार्क, चाबहिल र चुच्चेपाटी क्षेत्रमा चन्द्रविनायक जात्रा हर्षोल्लासका साथ मनाउने परम्परा भुपालेन्द्र मल्लका पालादेखि रहिआएको बताइन्छ ।
प्रतिक्रिया