वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

रवि एक महिनादेखि प्रहरी हिरासतमा, रास्वपाभित्र लफडा 

रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा एक महिनादेखि प्रहरी हिरासतमा छन्। उनीविरुद्ध पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेको छ। सार्वजनिक तथ्य प्रमाण र प्रहरीले गरिरहेको अनुसन्धानलाई विश्लेषण गर्ने हो भने रवि धरौटीमा छुट्ने सम्भावना कम छ। उनीमाथि सहकारी ठगी मात्र होइन संगठीत अपराधमा पनि अनुसन्धान भइरहेको छ। रास्वपाका नेता कार्यकर्ता र रविले सोचेका थिए, सके त अदालतले म्याद थप धेरै लामो समय गर्दैन। अवधि नै तोकेर मुद्दा दायर गर्ने सीमा तोकिदिन्छ वा मुद्दा परेसँगै धरौटीमा रिहा हुन सकिन्छ। त्यही भएर रास्वपामा कार्यवाहक सभापति पनि तोकिएन्। तर, यी विकल्प संकचुन हुँदै गएपछि रास्वपाभित्र कार्यवहाक सभापतिका लागि हानथाप सुरु भएको छ। उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेबीच कार्यवाहका लागि हानथाप भएपछि लफडा नै सुरु भएको छ। 

https://barnanmedia.com/news/detail/203349/ 

विकास समस्या समाधान समितिबाट विभिन्न निर्णय चुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा 

प्रधानमन्त्री केपी शर्मा ओलीले जनगुनासोलाई सम्बोधन गर्दै चुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन कसरी सञ्चालन गर्ने भन्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । सिंहदरबारमा आज सम्पनन्न राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औँ बैठकमा प्रधानमन्त्री ओलीले विकासका लागि सुशासन झनै आवश्यक भएकाले शासकीय सुधारलाई समितिबाट निर्णय गर्नुपर्ने कार्यसूचीको पहिलो नम्बरमा राखेको स्पष्ट गर्नुभयो ।  उहाँले वन वातावरण संरक्षण गर्दै यस क्षेत्रले विकासका आयोजनालाई सहजीकरण गर्नुपर्ने र विकासलाई अवरोध गर्ने गरी वनसम्बन्धी निकायले काम गर्न नहुने बताउनुभयो । उहाँले अजरवैजानको बाकुमा भएको जलवायुसम्बन्धी सम्मेलनमा वन मन्त्रालयले आवश्यकताभन्दा बढी कर्मचारी पठाएको सन्दर्भ उल्लेख गर्दै यस्ता गलल प्रवृत्ति हुन नहुनेमा मन्त्री र सचिवहरुलाई ध्यानाकर्षण गराउनुभयो ।

 https://barnanmedia.com/news/detail/203350/

 समाजवाद थोपर्ने होइन, जगैबाट उमार्ने र निर्माण गर्ने कुरा होः प्रचण्ड 

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद कसैले थोपरेर आउने विषय नभई यो तलैबाट उमारेर अघि बढाउनुपर्ने बताउनुभएको छ ।  सोमत घिमिरेद्वारा लिखित पुस्तक सामुदायिक समाजवादः विमोचन र विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘समाजवाद थोपेर आउने कुरा होइन, यो किताब पढेर पनि आउँदैन । समाजवाद अरु कुनै देशको नक्कल गरेर बन्ने कुरा पनि होइन र समाजवाद कुनै पार्टी विशेषले दस्तावेजमा लेखेर जनतालाई अर्ती उपदेश दिएर आउने पनि होइन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘समाजवाद थोपर्ने होइन, यो त जगैबाट उमार्ने कुरा हो । समाजवाद निर्माण गर्ने कुरा हो ।’

https://barnanmedia.com/news/detail/203362/ 

भारतीय मिडियामा प्रचण्डको आपत्तिजनक अभिव्यक्तिप्रति एमालेको आपत्ति 

सत्तारूढ नेकपा एमालेले प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘चाइना कार्ड’ प्रयोग गरेर चीन भ्रमणमा जान लागेको भन्दै दिएको अभिव्यक्तिप्रति कडा आपक्ति जनाएको छ । माओवादी अध्यक्ष प्रचण्डले भारतीय अखबार ‘द हिन्दु’ सँगको अन्तर्वार्तामा दिएको उक्त अभिव्यक्तिको एमालेले ‘कडा शब्द’ मा भर्त्सना गरेको छ । एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठले शनिबार विज्ञप्ति जारी गर्दै प्रचण्डको उक्त अभिव्यक्ति गैरजिम्मेवार, नेपालको सार्वभौम प्रतिष्ठा र कूटनीतिलाई गहिरो गरी असर पार्ने खालको रहेको टिप्पणी गरेका छन् । त्यस्तो टिप्पणीले नेपालले सार्वभौम राष्ट्रका रूपमा आफै निर्णय लिन पाउने स्वतन्त्रताको अपमान गर्ने एमालेको ठहर छ ।

कीर्तिपुर र काठमाडौं–१६ : माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल 

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच स्थानीय तह उपनिर्वाचनमा काठमाडौँको दुई सिटमा तालमेलको सहमति बनेको छ । सहमतिअनुसार काठमाडौँ १६ मा एकीकृत समाजवादीलाई माओवादी र कीर्तिपुर नगरपालिकामा माओवादीलाई एकीकृत समाजवादीले सहयोग गर्ने सहमति भएको हो । शनिबार बसेको दुई पार्टीबिचको संयुक्त बैठकले सो निर्णय गरेको हो । बैठकले कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनलाई नेकपा (एकीकृत समाजवादी) ले समर्थन गर्ने र काठमाडौँ महानगरपालिका वडा नं. १६ को वडाअध्यक्ष पदका उम्मेदवार मिनबहादुर मानन्धरलाई नेकपा माओवादी केन्द्रले समर्थन गर्ने निर्णय गरेको छ । 

इजरायलको आक्रमणमा दुई प्यालेस्टिनी जिहादी नेताको मृत्यु 

 इजरायलले सिरियामा बिहीबार गरेको हवाई आक्रमणमा इस्लामिक जिहादका दुई वरिष्ठ नेताको मृत्यु भएको गाजामा हमाससँगै इजरायलविरुद्ध लडेको प्यालेस्टिनी समूहको एक स्रोतले बताएको छ । दमास्कस नजिकैको कुद्सायामा भएको आक्रमणमा इस्लामिक जिहादको राजनीतिक ब्यूरोका सदस्य अब्देल अजिज मिनावी र समूहका विदेश सम्बन्ध प्रमुख रस्मी अबु इसाको मृत्यु भएको स्रोतले शनिबार एएफपीलाई जानकारी दिएको छ । उक्त स्रोतका अनुसार सिरियामा समूहको एउटा कार्यालय रहेको भवनलाई लक्षित गरी गरिएको आक्रमणमा इस्लामिक जिहादका अर्का एक सदस्यको पनि मृत्यु भएको थियो ।

‘कार्वन व्यापारलाई थप प्रभावकारी बनाउन आवश्यक’ 

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कार्वन व्यापारलाई अझै थप प्रभावकारी बनाउनका लागि विश्व बैंकको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।  अरजरबैजानको बाकुमा जारी रहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रको २९ औँ सम्मेलन (कोप–२९) सम्मेलनमा भाग लिन अजरबैजन रहनुभएका मन्त्री ठकुरीले विश्व बैंकसँगको द्विपक्षीय कार्वन व्यापारको बजार सुनिश्चिता हुनुपर्ने समेत बताउनुभयो ।   विश्व बैंकको सहयोगले लामो समयदेखि पूर्वाधार विकास, वनको विकास तथा संरक्षण, जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण तथा क्षमताअभिवृद्धिलगायत क्षेत्रमा सहयोग तथा सामुदायिक वनको क्षेत्रमा ३० वर्षदेखि सहयोग पुयाउँदै आएको उहाँले बताउनुभयो । 

छ सय एक हप्ता सफाइ गर्दा पनि वाग्मतीको अवस्था उस्तै  

 राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान छ सय एक हप्ता प्रवेश गरेपनि काठमाडौँ उपत्यकाका नदीनाला भने सफा हुन सकेको छैन । विसं २०७० जेठ ५ गते सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार निरन्तर वाग्मती किनारमा सफाइ हुँदै आएको छ । जति सफाइ गरे पनि वाग्मती सफा नदेखिएपछि ‘हिँड्दैछ, पाइला मेट्दैछ’ भनेर पनि कतिले यो महाअभियानलाई व्यङ्ग्य गर्ने गरेका छन् । 

एलन मस्कको एक्स छोड्ने बढे

अमेरिकी राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि साविक ट्वीटरका संस्थापक तथा पूर्व प्रमुख कार्यकारी (सीईओ) ज्याक डोर्सीलाई समेत फाइदा पुगेको छ । ट्रम्प निर्वाचित भएपछि लाखौं प्रयोगकर्ता एलन मस्कको सामाजिक सञ्जाल एक्स छाडेर डोर्सीको सामाजिक सञ्जाल ब्लुस्काईमा आएका हुन् । समाचार संस्था रोयटर्सका अनुसार पछिल्लो सातामा मात्रै ब्लुस्काईमा २५ लाख नयाँ प्रयोगकर्ता थपिएका छन् । यससँगै प्लेटफर्ममा एक करोड ६० लाख प्रयोगकर्ता पुगेका छन् । एक्सको विकल्पको रूपमा ती प्रयोगकर्ताहरू ब्लुस्काईमा आएको विश्लेषण गरिएको छ ।

टिपरको ठक्करबाट दुई जनाको मृत्यु 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–२ सुनझोडा पुलमा टिपरको ठक्करबाट शनिबार दिउँसो दुई जनाको मृत्यु भएको छ। मिक्स गिट्टी बोकेको बागमती प्रदेश ०३–००१ ख २९२८ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले बताए। उनका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको टिपरले पूर्वतर्फ आउँदै गरेको २० प ६०७ नम्बरको मोटरसाइकललाई दिउँसो २ः३० बजेतिर ठक्कर दिएको हो।

‘गौतम बुद्ध विमानस्थल दीर्घकालिनरूपमा  सञ्चालन गरौँ’ 

 लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि दीर्घकालिन योजना बनाउनुपर्नेमा जोड दिइएको छ । ट्राभल व्यवसायीको साझा संस्था नेपाल एशोसियन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) ले लुम्बिनी प्रदेशको बुटवलमा आज आयोजना गरेको १५औँ वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रमका वक्ताहरूले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पर्यटन व्यवसायीले ऐक्यबद्धतासमेत जनाएका छन् । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले राजनीतिक अस्थिरताका कारणले नै मुलुकका हरेक क्षेत्रमा प्रभाव पारेको बताउनुभयो । उहाँले राजनीतिक अस्थिरताले विकास र समृद्धिका योजना ओझेलमा परेको बताउँदै वर्तमान सरकारको ईच्छाशक्तिकै कारण गौतमबुद्ध विमानस्थल सञ्चालनको अवस्थामा पुगेको बताउनुभयो ।

पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भयाे : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भएको बताएका छन्। जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको कार्यालय बिपी अध्ययन केन्द्र भवनको उद्घाटन तथा नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला र सिन्धुपाल्चोकका पूर्वसभापतिद्वय स्व रोहिणीराज सिग्देल र स्व विकास लामाको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले उक्त धारणा राखेका हुन्। थापाले सबै नेता तथा कार्यकर्ताहरूलाई आपसी गुटबन्दीमा समय खर्च नगरी पार्टी सुदृढीकरणमा जुट्न आग्रहसमेत गरे। उनले हरेक गाउँ टोलसम्मै पार्टीभित्र चरम गुटबन्दी रहेको बताउँदै गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जाने निश्चित रहेको बताए।

कीर्तिपुरको मेयरमा कांग्रेसले डंगोललाई उम्मेदवार बनाउने
नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उठाउने निर्णय गरेको छ । शनिबार बसेको कांग्रेस बागमती प्रदेश संसदीय समितिको बैठकले सो निर्णय गरेको हो । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि सो नगरपालिकाको प्रमुखमा डंगोललाई उठाउने निर्णय भएको कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाले कांग्रेस जिल्ला कार्य समिति काठमाडौँलाई परिपत्रमार्फत जानकारी गराएका छन् ।

‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी वर्ष ‘कूटनीतिक माध्यमबाट’ रूससँगको युद्ध अन्त्य गर्न चाहेको बताउनुभएको छ ।  उहाँले अर्को वर्ष डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा राष्ट्रपति पदको कार्यभार सम्हाल्ने बित्तिकै यो द्वन्द्व पहिले भन्दा छिट्टै अन्त्य हुने बताउनुभएको हो । युक्रेनी रेडियोसँगको अन्तर्वार्तामा जेलेन्स्कीले भन्नुभयो, “यो युद्ध अर्को वर्ष अन्त्य होस् भनेर हामीले सक्दो प्रयास गर्नुपर्छ । हामीले कूटनीतिक माध्यमबाट यसलाई अन्त्य गर्नुपर्छ । यो धेरै महत्त्वपूर्ण छ ।” रूस र युक्रेनबीच कुनै अर्थपूर्ण वार्ता भएको छैन, तर ट्रम्पको राष्ट्रपति पदले द्वन्द्वको भविष्यमाथि प्रश्न उठाएको छ । रिपब्लिकन नेता ट्रम्पले बारम्बार छिटो युद्ध अन्त्य गर्ने बताउनुभएको छ । 

डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे 

 रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मेला सम्पन्न भएको छ । कात्तिक २७ गते हरिबोधिनी एकादशीदेखि सुरु भएको मेला शुक्रबार सकिएको हो ।  मुसिकोट नगरपालिका–५ स्थित डिग्रे शाइकुमारी भगवतीदेविको मन्दिर परिसरमा भव्य मेला लागेको थियो । यो वर्ष एकादशीदेखि पूर्णिमासम्म एक लाख बढी दर्शनार्थीले मन्दिरको दर्शन तथा पूजा पाठ गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिनुभयो ।  एकादशीदेखि पूर्णिमासम्म मन्दिरमा पूजापाठ गर्नेदेखि अन्तिम दिन मेला भर्नेसम्म गरेर उक्त व्यक्ति डिग्रे पुगेको समितिले जनाएको छ । पूजापाठ तथा मेला भर्नका लागि रुकुम पश्चिमसहित छिमेकी जिल्ला रुकुम पूर्व, सल्यान, जाजरकोट, सुर्खेत, रोल्पा, दाङलगायतका छिमेकी देश भारतबाट दर्शनार्थीहरू आएका थिए । 

तीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा 

बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले तीनै तहका सरकारबीचको समन्वयमा पुनःनिर्माणमा लागिने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकास्थित बाढीपहिरो प्रभावित क्षेत्रको आज अवलोकन गर्ने क्रममा उहाँले पुनःनिर्माण एवं पुनर्वास कार्यक्रम सञ्चालन गर्न तीनै तहका सरकारबीच समन्वय तथा सहकार्य आवश्यक रहेको बताउनुभयो ।  “प्रदेशभित्रका बाढी प्रभावित स्थानीय तहमा पुनःनिर्माण एवं पुनर्वासका कार्यक्रम गर्न योजना बनाइने र क्रमशः कार्यान्वयनमा गइनेछ,” लामाले भन्नुभयो, “यसका लागि पनि तिनै तहको सरकारबीच सहकार्य आवश्यक पर्दछ ।

पहिलो चौमासिकमा करिब १० प्रतिशत मात्रै विकास खर्च 

 चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा विकास खर्च निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा पुँजीगत खर्च करिब १० प्रतिशत मात्रै छ । चालु आर्थिक वर्षका लागि सरकारले कुल रु १८ खर्ब ६० अर्ब ३० अर्ब ३० करोड बराबरको बजेट ल्याएको थियो । कात्तिक मसान्तसम्ममा २२ दशमलव ३१ प्रतिशत अर्थात्् रु चार खर्ब १५ अर्ब दुई करोड खर्च भएको छ ।