इजाजतपत्र रद्द भएका हलमा रिलिज भए नेपाली फिल्म ?
फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’को निर्माण टिमले शनिबारदेखि १९ हलबाट फिल्म उतार्ने निर्णय गर्यो । फेक व्यापारिक रिपोर्ट उपलब्ध गराएपछि मोफसलका १९ हलबाट फिल्म उतारिएको छ ।
फिल्मको निर्माण कम्पनी सेभेन सिजले यो निर्णय लिए सँगै चलचित्र विकास बोर्डले यो बिषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बोर्डले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘सेभेन सिजले प्रेस विज्ञप्तीमा उल्लेख गरेका अधिकांश फिल्म घरहरूको फिल्म प्रदर्शन इजाजतपत्र रद्द भइसकेका छन् । इजाजतपत्र नवीकरण तथा नयाँ इजाजतपत्र लिई बक्स अफिस सिस्टम जडान गरी फिल्म प्रदर्शन गर्ने, गराउने सम्बन्धमा बोर्डबाट यसअघि नै लिखित एवं मौखिक जानकारी गराई कडा सचेतना गराइएको तथ्य स्मरण गर्न चाहन्छौं ।
तर, ती फिल्म घरहरूले प्रचलित कानुनको उल्लंघन गर्दै लुकीछिपी फिल्म प्रदर्शन गर्ने र गराउने, बक्स अफिस प्रणालीलाई वेवास्ता गरी म्यानुअल टिकट वितरण गरी आर्थिक ऐन २०८१, फिल्म(निर्माण, प्रदर्शन तथा वितरण) ऐन २०२६ र नियमावली फिल्म नियमावली, २०५७ मा रहेको प्रावधान विपरीत गतिविधि संचालन गरिरहेको बुझिन आएको छ ।’
चलचित्र विकास बोर्डले कानुन विपरीत क्रियाकलाप गर्ने फिल्म घरहरूलाई तत्काल छानबिन गरी कानुनी कारवाही प्रक्रिया अघि बढाउने बताएको छ । फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’का वितरक मनोज राठीले भने आफूहरूलाई कुन हल इजाजत लिएको र कुन नलिएको भन्ने बिषयमा जानकारी नहुने प्रतिक्रिया दिए ।
मेरो फिल्मसँग उनले भने–‘हामीसँग हल संचालकले के डीएम कोर्ड मागेपछि हामीले दिने हो । हामीलाई हल कसरी चलेको भन्ने थाहा हुँदैन । अब, कानुन विपरीत काम गर्ने हललाई विकास बोर्डले कारवाही गनुपर्यो ।’
प्रतिक्रिया