आइपिएल मेगा अक्सनका लागि ५७४ खेलाडी

 इण्डियन प्रिमियर लिगको २०२५ को लागि खेलाडीको मेगा अक्सन साउदी अरबको शहर जेद्दामा नोभेम्बर २४ र २५ मा हुने भएको छ । आईपीएलले शुक्रबार अक्सनमा जाने ३६६ भारतीय र २०८ विदेशी खेलाडीसहित ५७४ खेलाडीको अन्तिम सूची सार्बजनिक गरको छ ।

यस अक्सनका लागि कुल १५७४ खेलाडीहरू दर्ता भएका थिए, तर आइपिएल गभर्निङ काउन्सिलले १००० खेलाडीलाई बाहिर राख्दै ५७४ खेलाडीलाई अन्तिम अक्सनका लागि छानेका छन् । अब यी खेलाडीबाट आइपिएल फ्रेन्चाइजीहरुले २०४ खेलाडी छनौट गर्ने छन् । यस अक्सनमा ८१ खेलाडीको आधार मूल्य २ करोड भारु रहेको छ ।

अक्सनमा सबैभन्दा पहिला १२ मार्की खेलाडीहरूको अक्सन हुने आइपिएलले जानकारी दिएको छ । मार्की खेलाडीलाई ६-६ खेलाडीको दुई सेट बनाइएको छ । उनीहरुको आधार मुल्य २ करोड भारु रहेको छ ।

यसको पहिलो सेटमा इङ्ल्यान्डका ब्याट्सम्यान जोस बटलर, भारतका श्रेयस अय्यर, ऋषभ पन्त र अर्शदीप सिंह, दक्षिण अफ्रीकाका कागिसो रबाडा र अस्ट्रेलियाका मिचेल स्टार्क रहेका छन् । त्यसपछि दोस्रो सेटमा भारतका युजभेन्द्र चहल, केएल राहुल, मोहम्मद शामी र मोहम्मद सिराज, इङल्याण्डका लियम लिभिङस्टोन र दक्षिण अफ्रीकाका डेभिड मिलर रहेका छन् । आइपिएलका अनुसार यस अक्सनमा २०४ खेलाडीका लागि १० फ्रेन्चाइजीहरुले कुल ५ अर्ब ५१ करोड ७० लाख भारु खर्च गर्ने भएका छन् ।

यस पटकको आइपिएल अक्सनका लागि कुनै पनि नेपाली खेलाडीले आफ्नो नाम दर्ता गरेका थिएनन् ।