जुनको उज्यालोमा मकै सुकाउने अनौठो पर्व !
काठमाडौँ, १ मङ्सिरः कास्की घर भएका दिलबहादुर श्रेष्ठ गोरखा नगरपालिका–६ ठूलोआँगनमा जुनको उज्यालोमा मकै सुकाउने (सकिमना पुन्हिः पर्व) मा रमाइरहेका थिए । सामुहिक रुपमा मनाइएको सकिमना पुन्हिः पर्वको रौनकता देखेर उनी निकै खुसी थिए ।
‘हाम्रो संस्कृतिहरु लोप हुदै गएको छ, एकादशी देखि पाँच दिन सम्म व्रत वसेर पुर्णिमाको दिन चन्द्रमा उदाएपछि अन्न देखाउने प्रचलन हो,’ उनले भने, ‘हाम्रो जातिको यो प्रचलन यहाँ देख्न पाइदो रहेछ, निकै खुसी लाग्यो ।’ कात्तिक शुल्क पूर्णिमाको रात अमृत वर्षा हुने जनविश्वासका साथ सकिमना पुन्हिः पर्व मनाउने गरिन्छ । शुक्रबार ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको आयोजनामा ठूलो आँगनमा यो पर्व मनाइएको हो ।
देवताको आकृति बनाएर अन्नलाई जुनको उज्यालोमा देखाउन प्रचलन छ । यसरी पूजा गरेको अन्न प्रसादको रुपमा खाने प्रचलन रहको धारापानीकी देवमाया श्रेष्ठले बताइन् । ‘पहिले व्यक्ति/व्यक्तिको घरमा हुन्थ्यो, केही वर्ष यता सामुहिक रुपमा मनाउन थालेका छौँ,’ उनले भनिन् । मकै लगायतका विविध अन्नको पूजा गरि ग्रहण गर्ने पुरानो परम्परालाई निरन्तरता दिएको समितिका अध्यक्ष शुरेसमान श्रेष्ठले बताए ।
मकै, जुनेलो, पिडालु, उखु, मास, सखरखण्ड लगायतका विविध अन्न उब्जनी भएपछि यसरी नै जुनमा सुकाउने प्रचलन रहेको उनले सुनाए । यसरी पूजा गरेको अन्न प्रसादको रुपमा ग्रहण गर्ने चलन छ । भुटेको मकै, भटमास, मास, चना, केराउ,मस्याङ, जुनेलो लगायतका नौ थरी अन्न फिँजाएर स्थानीले पूजा गरेका हुन् । ४० वर्ष अघि सामुहिक रुपमा मनाउने यो पर्व लोप भएको थियो । स्थानीयको सक्रियतामा २०७६ सालबाट पुन सामुहिक रुपमा पर्व मनाउन थालिएको हो ।
प्रतिक्रिया