मेलामा भेडा जुधाउने ऐतिहासिक परम्परा

कात्तिक शुक्ल पूर्णिमाको अवसरमा बाँकेका विभिन्न स्थानहरुमा स्थानीय मेला सुरु भएको छ ।

जानकी गाउँपालिका वडा ५, बेलहरीस्थित गुरुवागाउँ मेलामा भेडा जुधाउने ऐतिहासिक परम्परा छ ।

गुरुवागाउँ मेलामा भेडा जुधाउनका लागि टाढा टाढाबाट समेत स्थानीयले दर्जनौँ भेडा लिएर आउने गर्दछन् । भेडा जुधाइ केवल मनोरञ्जन र परम्परा जोगाउनुका साथै गाउँमा बहादुर भनेर चिनिनका लागि मात्र ल्याउने गरेको स्थानीय बताउँछन् ।

“मैले मेलामा भेडा जुधाउन ल्याउने गरेको २० वर्षभन्दा बढी भयो, भेडा लडाउने एउटा सोख हो, परमपरादेखि यो चलन चल्दै आएको छ, बुढापाकाले चलाएको चलनलाई बचाएर निरन्तरता दिनका लागि हो” जानकी ६ का सर्नाम खाँले भन्नुभयो, “आफ्नो भेडाले जित्यो भने गाउँमा इज्जत बढ्छ, बहादुर भनेर सबैले चिन्छन् ।”

नेपालगन्ज उपमहानगरपालिका २२ पुरैनीबाट भेडा जुधाउन मेलामा आउनुभएकी साइना किङ्गरियाले विगत चार वर्षदेखि निरन्तर मेलामा भेडा जुधाउन ल्याउने गरेको बताउनुभयो । “मैले चार वर्षदेखि लगातार यो मेलामा भेडा जुधाउन ल्याउने गरेको छु, आफ्नो भेडाले जित्यो भने सान हुन्छ, खुसी मिल्छ र भेडाको दाम समेत बढ्छ ” साइनाले भन्नुभयो ।

परापूर्वकालदेखि चलेको भेडा जुधाउने परम्परालाई अहिलेका नयाँ पुस्ताले पनि निरन्तरता दिइरहेको बताउँछन् स्थानीय बुढापाकाहरु । भेडा जुधाउन बाँकेका विभिन्न स्थानबाट मानिसहरु मेलामा आउने गरेका छन् । हरेक वर्ष एकसय भेडाको हाराहारीमा भेडाहरु एकापसमा जुधाउने गरिन्छन् । 

मेलामा भेडा जुधाइ बाहेक धार्मिक रामलिला नाटक मञ्चन, मनोरञ्जनात्मक कार्यक्रम नृत्य, भजनकृतन हेर्नुका साथै मन्दिरको दर्शन गर्ने र तलाउमा स्नान गर्नका लागि बाँके, बर्दिया, दाङ तथा भारतका विभिन्न स्थानका हजारौँ दर्शनार्थी मेलामा आउने गरेका छन् ।