रवि एक महिनादेखि प्रहरी हिरासतमा, रास्वपाभित्र लफडा

रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा एक महिनादेखि प्रहरी हिरासतमा छन्। उनीविरुद्ध पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेको छ। सार्वजनिक तथ्य प्रमाण र प्रहरीले गरिरहेको अनुसन्धानलाई विश्लेषण गर्ने हो भने रवि धरौटीमा छुट्ने सम्भावना कम छ। उनीमाथि सहकारी ठगी मात्र होइन संगठीत अपराधमा पनि अनुसन्धान भइरहेको छ।

रास्वपाका नेता कार्यकर्ता र रविले सोचेका थिए, सके त अदालतले म्याद थप धेरै लामो समय गर्दैन। अवधि नै तोकेर मुद्दा दायर गर्ने सीमा तोकिदिन्छ वा मुद्दा परेसँगै धरौटीमा रिहा हुन सकिन्छ। त्यही भएर रास्वपामा कार्यवाहक सभापति पनि तोकिएन्। तर, यी विकल्प संकचुन हुँदै गएपछि रास्वपाभित्र कार्यवहाक सभापतिका लागि हानथाप सुरु भएको छ। उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेबीच कार्यवाहका लागि हानथाप भएपछि लफडा नै सुरु भएको छ।

हानथाप सुरु भएपछि डिपी रविप्रति अझ सशक्त भएर लागेका छन्। उनले अर्का उपसभापति वाग्ले लक्षित टिप्पणी पनि गर्न थालेका छन्।

रविको पक्राउविरुको आन्दोलनका क्रममा २५ कात्तिकमा डिपीले ‘रवि लामिछाने जिउँदो रहेसम्म सभापति रहने’ बताए। रविलाई छुटाउन भइरहेको विरोध प्रदर्शनका क्रममा आइतबार अर्यालले रास्वपाले अर्को सभापतिको कल्पना नरहेको बताएका हुन्। ‘म यसै मञ्चबाट भन्न चाहन्छु, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने जिउँदो रहेसम्म रवि लामिछाने नै हो,’ उनले भने, ‘यसमा कसले कार्यवाहक सभापति पाउँछ, पाउँदैन गौंण कुरा हो ।’ रवि हिरासतमा वा जेलमा बसे पनि सभापति नै भइरहने उनले बताएका छन्।

कार्यवाहक सभापतिका लागि स्वर्णिम र डिपीबीच विवाद रहेकाले स्थानीय तहको उपनिर्वाचनको टिकटमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको हस्ताक्षर चलाइएको छ।

रास्वपाले पछिल्लो निर्णय गर्दा उपसभापति वाग्ले नेपालमा छैनन् । उनी अजरबैजान पुगेका छन् । 
उपसभापति अर्यालले सभापति लामिछानेसँगको सल्लाहअनुसार नै कार्यवाहक नतोकिएको दाबी गरे।  ‘सभापतिलाई हामीले नै अहिले कार्यवाहक सभापति तोक्नु पर्दैन भनेका हौँ । सिग्नेचरी कुरामा अप्ठेरो परे सल्लाह गरेर टुंग्याउने कुरा भएको छ,’ उनले भनेका छन्। 
तर, कार्यवाहक कसले पाउने भन्नेमा विवाद हुँदा रविले जिम्मेवारी नतोकेको रास्वपा स्रोतको दाबी छ। रास्वपा विधानअनुसार कार्यवाहक सभापतिका लागि दुई मापण्दड छन्। पहिलो हो उमेर। उमेर अनुसार स्वर्णिम कार्यवाहक सभापति हुन्छन्। तर, अर्काे मापदण्ड हो, सभापतिले तोकेको उपसभापति नै कार्यवाहक हुन्। आफू प्रहरी हिरासतमा रहेका बेला दुई उपसभापतिमध्ये कुनै एकलाई कार्यवाहक बनाउदा गुठ झांगिने भयले रवि चुप छन्।

हुन् त रास्वपामा दुई उपसभापतिबीच बरीयताको विवाद नयाँ होइन। संसदमा पनि देखिने गरेको छ। गत ३१ असारमा वाग्ले संसद बैठकमा पार्टी सभापति लामिछानेसँगै बैठकको पहिलो लहरमा बस्न खोजेका थिए। तर, डिपी त्यसअघि नै पहिलो लहरमा थिए। जसकारण पहिलो ‘रो’ मा वाग्लेले ठाउँ पाएका थिएनन्। दोस्रो लहरमा कुर्सी खाली नै थियो । तर, वाग्ले त्यहाँ नबसी सिधै पछाडि गएर बसेका थिए। 
मंसिर २०८० मा महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले दुवै उपसभापतिलाई समान वरीयता प्रदान गरेको थियो।