‘चाइना कार्ड’ भन्दै प्रचण्डले दिएको अभिव्यक्ति किन विवादास्पद बन्याे? प्रचण्डले द हिन्दूलाइ दिएकाे अन्तर्वार्तामा के छ?
द हिन्दूमा एक अन्तर्वार्ता दिँदै पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चिनियाँ कार्ड’ खेलिरहेको आरोप लगाए।
अध्यक्ष प्रचण्डले भारतीय पत्रिका द हिन्दुकी पत्रकार सुहासिनी हैदरसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लागेको विषयमा टिप्पणी गर्दै ‘चिनियाँ कार्ड’ को आरोप लगाएका हुन्।
ओली सरकार बनेपछि नेपाल–भारत सम्बन्धमा तनाव बढेको उनको भनाइ थियो । उनले सीमा विवाद पुनः जागृत हुने खतरा रहेको बताएका छन् । प्रधानमन्त्री ओली मंसिर २७ गतेदेखि चीनको औपचारिक भ्रमणमा जाने तयारीमा छन्।
आफू १८ महिना प्रधानमन्त्री रहँदा नेपाल–भारत सम्बन्धमा सुधार गरे पनि ओली आएपछि बिग्रिएको टिप्पणी प्रचण्डले गरेका छन् । प्रचण्डले भनेका छन्, ‘यो केपी ओली सरकारको अपरिपक्वता हो। सरकारले दुई छिमेकीसँगको सम्बन्धमा परिपक्वता देखाउनुपर्थ्यो। केपीजी चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। यो भ्रमण चिनियाँ कार्ड जस्तो देखिएको छ, जुन गलत छ। हाम्रो इतिहास, संस्कृति र भूगोलका आधारमा हामीले छिमेकीसँग बराबरको सम्बन्ध निभाउनुपर्छ। उहाँले (चीन) जानुअघि भारतसँगको हाम्रो विशेष सम्बन्धको ख्याल राख्नुपर्थ्यो।’
परराष्ट्र मामिलाका जानकारहरूले ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिलाई ‘कूटनीतिक मर्यादाविपरीत’ भनेका छन् ।कूटनीतिज्ञहरूका अनुसार तीन पटकसम्म प्रधानमन्त्री भइसकेका तथा प्रमुख प्रतिपक्षी दलको नेताले कूटनीतिक मर्यदाविपरीत अभिव्यक्ति दिनु दुर्भाग्यपूर्ण हाे।
भारतका लागि नेपालका पूर्वराजदूत निलाम्बर आचार्यले प्रचण्डको अभिव्यक्ति दुर्भाग्यपूर्ण भएको बताए । पूर्वप्रधानमन्त्रीले आन्तरिक असन्तुष्टिलाई देखाएर छिमेकीसँगको सम्बन्ध बिगार्न नहुने उनको भनाइ छ ।
द हिन्दूका लागि सुहासिनी हैदरले विपक्षी दलका नेता समेत रहेका प्रचण्डसँग गरेको कुराकानी:
काठमाडौंमा आयोजित कान्तिपुर कन्क्लेभमा बोल्दै आफ्नो पछिल्लो कार्यकाल (डिसेम्बर २०२२- जुलाई २०२४) मा तपाईंले भारत-नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको बताउनुभयो । तर, त्यसको केवल चार महिनापछि नेपाल-भारत सम्बन्धमा केही तनाव र समस्याहरू देखिएका छन्, यस्तो किन भयो ?
मेरो कार्यकालमा नेपाल-भारत सम्बन्धले साँच्चै नयाँ उचाइ प्राप्त गरेको थियो । जून २०२३ को मेरो भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएका वार्ताहरूबाट केही महत्त्वपूर्ण सम्झौताहरू हुनुका साथै गहिरो समझदारी कायम भएको थियो, जसको प्रभाव लामो समयसम्म रहनेछ। यस वर्ष म फेरि (जुन २०२४ मा) मोदीको सपथ समारोहमा सहभागी हुन भारत गएँ र प्रधानमन्त्री मोदी र विदेशमन्त्री एस. जयशंकरसँग छलफल गरें। दुवै देशका राष्ट्रिय हितका आधारमा बलियो सम्बन्ध बनाउन सकेकोमा मलाई गर्व छ। मलाई लाग्छ, मेरो सरकार ढालिएपछि अहिले नेपालमा भारतसँगको सम्बन्धलाई लिएर जे भइरहेको छ त्यो ठीक छैन । यो सही होइन।
प्रधानमन्त्री ओली छिट्टै बेइजिङ जाँदैछन्, र अधिकारीहरूले भारतले अहिलेसम्म उनलाई कुनै निमन्त्रणा नदिएको उल्लेख गरेका छन् । समस्या कहाँ छ?
यो प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारको अपरिपक्वताको प्रमाण हो। उनीहरूले दुवै छिमेकी देशहरूसँगको सम्बन्धमा न्यूनतम् परिपक्वता देखाउनुपर्थ्यो। केपीजी द्विपक्षीय भ्रमणको लागि चीन जाँदैहुनुहुन्छ, तर यो भ्रमण बढी ‘चाइना कार्ड’ खेल्नका लागि मात्र भएको देखिन्छ, जुन गलत हो। हाम्रो इतिहास, संस्कृति र भूगोलले हामीले हाम्रो सम्बन्धलाई सन्तुलित राख्नुपर्छ भन्ने देखाउँछ, र उहाँले चीन जानुअघि नेपालको भारतसँगको विशेष सम्बन्धलाई स्वीकार गर्नुपर्छ। यस्तो हुनुहुँदैन थियो।
तपाईंले गत वर्ष भन्नुभएको पोखरा र भैरहवा विमानस्थलमा थप हवाइ रुटका लागि गरेको नेपालको अनुरोधलाई भारतले अस्वीकार गर्नु र चिनियाँ लगानी भएको कुनै पनि जलविद्युत वा सामान खरिद गर्न भारतले अस्वीकार गर्नु दिल्ली र काठमाडौंबीचका दुई प्रमुख मुद्दा हुन्। यसको समाधान के होला ?
जलविद्युत्को विषयमा, भारत र नेपालले गत वर्ष गरेको ऐतिहासिक सम्झौताहरूको घोषणामा भारतले १० हजार मेगावाट विद्युत् खरिद गर्ने सम्झौता पनि समावेश थियो। पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई अघि बढाउनका लागि पनि हामी सहमतिको नजिक थियौं। मलाई लाग्छ, यदि मलाई अर्को छ महिनासम्म सत्तामा रहन दिइएको भए, त्यसलाई अन्तिम रूप दिने थियौं।
सीमा समस्याको (सुस्ता-कालापानी-लिम्पियाधुरा) बारेमा पनि मोदीजीले हामीबीच भएको गहिरो संवादबाट यो मुद्दा समाधान हुने बताउनु भएको थियो र भारतले नेपाललाई पनि त्यो सन्देश पठाएको थियो। अहिलेको अवस्थामा फेरि यो मुद्दा ठूलो समस्या भएर आउने खतरा छ भन्ने मलाई लाग्छ। हामीले सचेततापूर्वक अघि बढ्न आवश्यक छ, सम्बन्ध सुधार गर्न र यो समस्या समाधान गर्न जरुरी छ।
भारतको दृष्टिकोणबाट हेर्दा, नेपालमा सरकार परिवर्तन सामान्य जस्तै भएकाले राजनीतिक परिदृश्यलाई पछ्याउन गाह्रो छ। तपाईं अहिले फेरि विपक्षमा हुनुहुन्छ; के तपाईं आफूलाई फेरि प्रधानमन्त्रीको पदमा दाबी गर्नुहुन्छ ?
म अहिले प्रधानमन्त्रीको दौडमा लाग्न चाहन्न। म मेरो सबै ध्यान नेपाली जनतासँग राम्रो सम्बन्ध बनाउनमा केन्द्रित गर्न चाहन्छु, पद पछि दौडिन होइन। तर मेरो डर के छ भने पदले मलाई पछ्याउने हो कि, र त्यो अवसर आएमा हाम्रो पार्टीले के गर्ने भन्ने निर्णय गर्नुपर्नेछ। अहिले म केवल जनतासँग पार्टीको सम्बन्ध सुधार गर्न आफ्नो ऊर्जा खर्च गर्न चाहन्छु।
माओवादी पार्टीहरू पुनर्मिलन हुन सक्ला ?
सबै एक ठाउँमा आउँदेनन् तर, धेरै फेरि (हामीसँग) जोडिन चाहन्छन् र आशा गरौं त्यस्तो हुनेछ ।
नेपाल सार्क सम्मेलनको अन्तिम आयोजक थियो, जुन २०१४ देखि भारत-पाकिस्तान तनावका कारण आयोजना हुन सकेको छैन। के सार्क सकियो, र के यो क्षेत्रले दक्षिण एसियाली मुद्दाहरूमा काम गर्ने अन्य उपायहरू खोज्नुपर्छ?
सार्कको समस्या समाधान हुनैपर्छ। यसमा भारतको प्रमुख भूमिका छ, किनकि यो क्षेत्रको सबैभन्दा ठूलो देश हो । त्यसैले हामी आशा गर्छौं कि भारतले केही उपाय निकाल्नेमा हामी सधैं यसलाई समर्थन गर्नेछौं। सार्क रहिरहनुपर्छ, हामी यसलाई त्याग्न सक्दैनौं।
प्रतिक्रिया