बालबालिका राष्ट्र निर्माणका पुँजी हुन्ः प्रदेश प्रमुख भट्ट

काठमाडौँ, ३० कात्तिक : गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिका राष्ट्र निर्माणका लागि मानव पुँजी रहेको बताउनुभएको छ । 

कास्कीको माछापुच्छ्रे गाउँपालिका–५, रिभानस्थित निष्पक्ष मावि परिसरमा आयोजित मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानको शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा उहाँले बालअधिकारको संरक्षण नै सुसंस्कृत परिवार, सभ्य समाज र समृद्ध मुलुक निर्माणको जग रहेको बताउनुुभयो । उहाँले संविधानले बालबालिकाको मौलिक हकलाई प्रत्याभूत गरेको र सबै बालबालिकालाई  साक्षर बनाउने अभियानमा सरकार निरन्तर लागिरहेको उल्लेख गर्नुभयो । 

असल अभिभावकत्वले मात्र बालबालिकाको भविष्य र शिक्षामा सुधार गर्न सकिने प्रदेश प्रमुख भट्टको भनाइ छ ।     “बालबालिकाको हातमा कुटो कोदालो होइन, कलम र किताब नै हुनुपर्दछ । यसका लागि परिवार, समाज, संस्था र सिङ्गो राज्यको दायित्व  रहनुपर्दछ”, उहाँले भन्नुुभयो, “हाम्रो दायित्व बालबालिकालाई विद्यालयमा पु¥याउनु मात्र पनि होइन, सबै विद्यालयहरूलाई बालबालिकाको इच्छाअनुसार उपयुक्त शिक्षाको व्यवस्थापन गर्न सक्ने बनाउनु पनि हो ।”        

प्रतिष्ठानले विसं २०५४ देखि नै यहाँका विद्यालयहरूमा भौतिक संरचना निर्माण, पुस्तकालय स्थापना, छात्रवृत्ति प्रदान, प्रोजेक्टर, विज्ञान सामग्री तथा कम्प्युटरलगायतका शैक्षिक सामाग्री सहयोग गरेर शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको थाहा पाउँदा खुसी लागेको छ प्रदेश प्रमुख भट्टले भन्नुभयो । 

प्रतिष्ठानका तर्फबाट विभिन्न १० विद्यालयलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।