गगनले बहालवाला प्रधानन्यायाधीशमाथि किन कांग्रेसको ठप्पा लगाए ?
आफ्नो वक्तृतालाई नै राजनीतिको मुख्य आधार बनाएका नेताहरु अभिव्यक्तिमा फूलबुट्टा भर्ने क्रममा कहिलेकाहीँ नराम्रोसँग चिप्लिने गर्छन् । कहाँनिर चिप्लियो, पत्तै पाउँदैनन् । आलोचना र विवादमा फसेपछि मात्र उनीहरुको होस् खुल्छ ।
अहिले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अवस्था त्यही बनेको छ । देशको प्रधानन्यायाधीशजस्तो पदको गरिमा र संवेदनशीलता नबुझी गरेको उनको एउटा टिप्पणी अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
उनले भनेका छन्, ‘प्रकाशमानसिंह राउत दाइको अभिव्यक्ति सुनेर मलाई गर्व लाग्यो । उहाँ पहिला कांग्रेसको नेता हुनुहुन्थ्यो । हामी एउटै मञ्चमा हुन्थ्यौँ । मैले दाइ जय नेपाल भन्थेँ । अहिले उहाँ प्रधानमन्त्री हुनुभयो । गर्व लाग्छ ।’
उनले बहुदलीय व्यवस्थामा कुनै राजनीतिक दलमा आबद्ध व्यक्ति न्यायाधीश बन्नु सामान्य र स्वाभाविक हुने तर्क पनि गरे । विदेशमा पनि यस्तो देखेको भन्दै राजनीतिक दलको नेता वा कार्यकर्ता इजलासमा बस्नुलाई सामान्यीकरण गर्न पनि खोजे ।
गगनले किन त्यसो भने ? त्यो कुरा उनको मनमा तत्काल उत्पन्न भएको हो या योजनाबद्ध रुपमा त्यही कुरा भन्छु भनेर तयारीसाथ आएका हुन् ? यसतर्फ खोजीनीति हुँदै गर्ला । तर, बहालावाला प्रधानन्यायाधीशलाई उनले आफ्नो पार्टीको भनेर जुन ठप्पा लगाउने गरी सार्वजनिक मञ्चमा रेकर्ड हुने गरी बोलेका छन्, त्यसले एक न्यायमूर्तिका रुपमा सम्माननीय प्रकाशमानसिंह राउतलाई भने अप्ठ्यारो पर्न सक्नेछ ।
अब प्रधानन्यायाधीश राउतले कांग्रेस सम्बद्ध विषय अदालतमा आएमा मुद्दा हेर्ने कि नहेर्ने ? यसै पनि केही समयअघि बाजुराको त्रिवेणी नगरपालिकामा हत्या गरिएका चेतनदीप अयडीका हत्यारालाई साधारण तारेखमा छाडिदिएको र त्यसमा उनको कांग्रेसी पृष्ठभूमिले काम गरेको भनेर पीडित पक्षले आरोप लगाइरहेकै छ । यस विषयमा राउतले संसदीय सुनुवाइ समितिमा समेत जवाफ दिनुपरेको धेरै दिन भएको छैन । त्यही आरोपलाई पुष्टि हुने गरी कांग्रेसको महामन्त्रीजस्तो पदाधिकारी त्यसमा पनि गगन थापाजस्तो सार्वजनिक छवि भएको व्यक्तिले बोलिदिँदा प्रधानन्यायाधीश राउतलाई निल्नु न ओकल्नु बनाएको छ ।
राउत लोकतान्त्रिक कानुन व्यवसायीहरुको खेमाबाट सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष भएको सार्वजनिक रुपमा जानकारीमै भएको कुरा हो । उनलाई न्यायाधीश बनाएको पनि वरिष्ठ अधिवक्ता एवं देवानी कानुनका जानकार भनेर नै हो भन्ने विश्वास गरिएको थियो । न्यायको शक्ति भनेको पनि यस्तै आस्था र विश्वासमा अडेको हुन्छ । तर गगन थापाले त्यस आस्थामा क्षयीकरण हुने गरी प्रधानन्यायाधीशलाई एउटा पार्टीको साँघुरो घेराभित्र सीमित गरिदिएका छन् । खासमा उनको यो अभिव्यक्ति अवहेलनाजन्य प्रकृतिको पनि छ ।
हुन त गगन थापा त्यति रचनात्मक कामका कारण दरिएका व्यक्ति होइनन् । उनी विद्रोह र विनाशकै बाटो हिँडेर यहाँसम्म आइपुगेका हुन् । उनले त्रिचन्द्र क्याम्पसमा ठमेलतिरका युवाहरुलाई भेला पारेर राजनीतिमा आफ्नो स्थान बनाउन सुरु गरेका थिए । नेविसंघको चितवन महाधिवेशनमा बद्री पाण्डेलाई हराउन उनले हतियारहरुको खात लगाएका थिए । गणतन्त्रको आन्दोलन भनेर उनले सडकमा ढुंगा हानेको फोटो अहिलेसम्मै देख्न पाइन्छ ।
खासमा गगन थापा प्रभृतिलाई भएका राज्य संरचना र संस्थाहरु खल्बल्याउन कसैले प्रयोग र परिचालन पो गरेको हो कि भनेर गिरिजाबाबुले नै भन्ने गर्थे । त्यो आशंका अहिलेसम्म पनि कांग्रेसभित्र गरिँदै छ । संस्थाहरुको तेजोबध गरेर राज्यप्रणालीलाई कमजोर बनाउने कसैको उद्देश्यमा जानी–नजानी उनका गतिविधिबाट योगदान पुगिरहेको छ । बहालवाला प्रधानन्यायाधीशबारे गरेको उनको टिप्पणी पनि यसै कोटिको छ । जुन विडम्बनापूर्ण, आपत्तिजनक र गैरजिम्मेवार छ ।
प्रतिक्रिया