लाजिम्पाटमा घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण गर्नेहरूको पहिचान खुल्यो, एक जना पक्राउ, तीन फरार
काठमाडौँको लाजिम्पाटस्थित पानीपोखरीमा कार्तिक ११ मा घरजग्गा व्यवसायी ३५ वर्षीय विक्रम लामामाथि आक्रमण भएको घटनामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नुवाकोटको ककनी गाउँपालिका–६ घर भएर टोखा नगरपालिका–३ स्थित ग्राण्डी बस्ने लामामाथि एक समूहले रडले हान्दै निर्घात कुटपिट गरेको थियो । उनको अहिले ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ ।
आक्रमणमा संलग्न रहेको आरोपमा हाल शैलेन्द्र तामाङ उर्फ मार्सल पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई अभद्र व्यवहारमा मुद्दा चलाएको थियो । अदालतको आदेशले मार्सल थुनामा गएका छन् । उनी कारागारमुक्त भएपछि पुनः ज्यानमार्ने उद्योग मुद्दामा अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
४ जना मिलेर इनोभा अस्पतालको पार्किङमा विक्रम लामामाथि रड प्रहार गरेर निर्घात कुटपिट गरेको सिसिटिभी फुटेजमा देखिन्छ । आक्रमण गर्ने मध्येका ३ जना अझै फरार छन् । आक्रमणकारीहरूको पहिचान भैसकेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । आक्रमणमा संलग्न अजय लामा, निश्चल सुनार र दीपक बरामु फरार छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट नुवाकोट घर भएका अजय लामाले नेतृत्व गरेर विक्रमलाई आक्रमण गरेको खुलेको छ । अजय यसअघि लिखत किर्ते कसुरमा जेल परेर छुटेका थिए । विक्रम लामाले गर्दा यसअघि आफू जेल परेको भन्दै उनले आफ्नो समूहमा ‘बदला लिनुपर्ने’ कुरा बताउँदै आएका थिए । अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने, ‘अजयले रिसिबि साँध्न पनि आक्रमण गरेको हुनसक्छ तर, उनलाई पक्राउ नगरिकन यकिन कुरा आउँदैन ।’
प्रतिक्रिया