वर्ल्डलिङ्कले बुझायो दुई अर्ब १५ करोड बक्यौता

नेपालको ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई बक्यौता रकम बुझाएको छ ।

कम्पनीले शुक्रबार प्राधिकरणलाई रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) शुल्क बापत बुझाउनुपर्ने दुई अर्ब १५ करोड १४ लाख सात हजार ५५२ रुपैयाँ भुक्तानी गरेको हो ।

दूरसञ्चार ऐन २०५३ को दफा ३२ र नियमावलीको नियम २६ अनुसार दूरसञ्चार सेवाबाट भएको कुल आम्दानीको चार प्रतिशत रोयल्टी नेपाल सरकारलाई तिर्नुपर्ने व्यवस्था छ । तर वर्ल्डलिङ्कले कानुन विपरीत मर्मतसम्भारको रकममा कर लगाउने निर्णय भएको भन्दै सर्वोच्चमा रिट दायर गरेको थियो ।

रकम भुक्तानी विवाद अदालतमा लामो समयसम्म विचाराधीन रहँदा केही समय इन्टरनेट सेवा प्रवाहमा नै समस्या सिर्जना भएको थियो । सर्वोच्चले वर्ल्डलिङ्कको रिट खारेज गरेपछि सेवाप्रदायकबाट रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) को रकम असुल गर्ने कानुनी बाटो खुलेको थियो ।

प्राधिकरणका अनुसार वर्ल्डलिङ्कले रोयल्टी वापत एक अर्ब ३८ करोड ९० लाख १२ हजार २२५ रुपैयाँ बुझाएको छ । त्यसैगरी आरटीडीएफ अन्तर्गतको ७६ करोड २३ लाख ९५ हजार ३२७ रुपैयाँ भुक्तानी गरेको हो । प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार वर्ल्डलिङ्कले बक्यौता रकम बुझाएपछि नवीकरण र ब्याण्डविथको भुक्तानीका लागि आवश्यक सहजीकरणको प्रक्रिया अघि बढ्नेछ ।