नेपालले आज ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्दै
काठमाडौँ,३०कात्तिकः नेपालले आजदेखि बंगलादेशमा बिजुली निर्यात गर्दै छ । नेपाल, भारत र बंगलादेशबीच गत असोज १७ गते भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले आज ४० मेगावाट बिजुली बंगलादेश पठाउन लागेको हो ।
नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीले दिउँसो पौने एक बजे संयुक्त रूपमा भर्चुअल उद्घाटन गरी बंगलादेशमा विद्युत् निर्यात सुरु गर्ने तयारी गरिएको छ ।
प्राधिकरणका अनुसार २५ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बंगलादेश पठाउन लागिएको हो ।
शुक्रबार करिब ११ घण्टा बिजुली बिक्री गर्दा प्राधिकरणले ३८ लाख ३२ हजार ४ सय रुपैयाँ आम्दानी गर्ने बताइएको छ । हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशलाई बिजुली बेच्ने सम्झौता भएको छ । आज एकदिन बिजुली बेचेपछि अर्को वर्ष जुन १५ मा बंगलादेश विद्युत् निर्यात गरिनेछ । त्यसपछि बिजुली निर्यात नियमित हुने छ । बंगलादेशलाई बिजुली बेच्दा प्रतिमहिना ३३ करोड आम्दानी हुने विद्युत् प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया