पूर्वराष्ट्रपति भण्डारी पछि पूर्वउपराष्ट्रपति पुन पनि सक्रिय राजनीतिमा, पदको गरिमा खै ?

 राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुन्। संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने संविधानमा उल्लेख छ। तर, नेपालमा पदको गरिमा नै नराखे राष्ट्राध्यक्ष र सहराष्ट्रध्यक्ष सक्रिय राजनीतिमा फर्किन थालेका छन्। नेपालका प्रथम राष्ट्रपति रामवरण यादव सक्रिय राजनीतिमा फर्किएनन्। उनी त्यसअघि कांग्रेस नेता थिए।

तर, त्यसपछि राष्ट्रपति बनेकी विद्यादेवी भण्डारी राजनीतिमा फर्किसकेकी छन्। उनले एमालेको सदस्यता नै नवीकरण गरिसकेको चर्चा छ। त्यति मात्र होइन उनले आगामी महाधिवेशनबाट एमाले अध्यक्ष बन्न तयारी थालेकी छन्। एमालेमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको बर्चश्व रहेका बेला भण्डारी फेरि सक्रिय भएकी हुन्। पछिल्लो पटक एमालेले भाटभटेनीबाट जग्गा दान लिँदा विरोध भयो। यसको विरोध गर्नेमा भण्डारी पक्षीय नेताहरु थिए। 

यसरी राष्ट्राध्यक्ष बनिसकेका व्यक्ति नै सक्रिय राजनीतिमा फर्किन थालेपछि त्यसपछिका पदको गरिमा राख्नेहरु पनि कहाँ रहे र। उपराष्ट्रपति बनिसकेका नन्दबहादुर पुन पनि यही दौडमा छन्।

उनले पनि सोमबार बसेको माओवादीको पदाधिकारीको बैठकमा सहभागी भएर सक्रिय राजनीतिको सुरुवात गरेका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बसेको पदाधिकारी बैठकमा पुन सहभागी भए। 

पुनलाई महत्त्वपूर्ण भूमिका दिएर सक्रिय राजनीतिमा सहभागी गराउने योजना अध्यक्ष प्रचण्डको हो। यो बैठमा उनीे आमन्त्रित सदस्यको रूपमा रहे पनि भूमिका खोजेका छन्। पासाङले पनि उपराष्ट्रपतिको समयावधि सकिएपछि माओवादी केन्द्रको सक्रिय राजनीति गर्ने इच्छा प्रचण्डसँग राख्दै आएका थिए। प्रचण्डले रोल्पा, रूकुम क्षेत्रको राजनीतिक सन्तुलनका लागि पुनलाई उपाध्यक्षको भूमिकामा ल्याउने तयारी गरेका छन्। माओवादी दशवर्षे सशस्त्र युद्धमा जनमुक्ति सेनाको कमाण्डर उनी थिए। 

राष्ट्रपति र उपराष्ट्रपति बन्दा पार्टीको भूमिकाबाट बिदा लिनुपर्ने प्रावधान छ। त्यही अनुसार भण्डारी र पुनले राजनीतिबाट बिदा लिएका थिए । तर, पछिल्लो समयमा उनीहरु सक्रिय छन्।