दुईजना संस्कृतिविद्लाई ललितपुर महानगरद्वारा विशेष सुविधा दिएर सम्मान
ललितपुर महानगरपालिकाले दुईजना संस्कृतिविद्लाई विशेष सुविधा दिएर सम्मान गरेको छ । संस्कृति तथा पुरातत्त्वविद् हरिराम जोशी र अर्का संस्कृतिविद्, अन्वेषक तथा वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थलाई सम्मान गरिएको हो ।
ललितपुर महानगरले बिहीबार एक कार्यक्रमबीच उनीहरूको दिनचर्यालाई सहज बनाउन सवारी साधन, सुरक्षाकर्मीको रूपमा नगर प्रहरी, मोबाइल सेट हस्तान्तरण गरेर सम्मान गरेको हो ।साथै, अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउनुपरेको अवस्थामा लाग्ने सबै खर्च महानगरले बेहोर्ने व्यवस्था मिलाइएको छ ।
ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले कार्यपालिकाले गरेको निर्णय कार्यान्वयन गर्न कार्यक्रम गरेको बताए । सम्मानित जोशी र कायस्थले कला, संस्कृति र सम्पदाको क्षेत्रमा आफूहरूले गरेको कामको कदर गर्दै सम्मानसहित सुविधा दिएकोमा धन्यवाद दिए ।
ललितपुर महानगरको वडा नम्बर ५ निवासी हरिराम जोशी वि.सं. १९९२ जन्मिएका हुन् । त्यसैगरी, छत्रबहादुर कायस्थको जन्म वि.संं. १९९९ मा भएको हो ।
प्रतिक्रिया