बाँचेको खुशीयालीमा बाजागाजा

‘मृत्युमार्ग ’को रुपमा समेत चिनिएको कर्णाली राजमार्गमा हुने दुर्घटनाका कारण अहिलेसम्म कतिले ज्यान गुमाए , त्यसको लेखाजोखा छैन । शाही शासनकालमा नेपाली सेनाले बनाएको उक्त सडकको स्तरोन्नति नहुँदा दुर्घटनाको जोखिम कम हुन नसकेको बताइन्छ । 

दुर्घटनाबाट जागिनु नै अहोभाग्य मान्ने अवस्था सिर्जना भएको छ । यस्तै घटना भएको छ, कालीकोटको रास्कोटमा । केही दिन पहिले सवारी दुर्घटनामा ज्यान जोगिएको खुशीयालीमा उपचार सकाएर घर फर्केका एक जना घाइतेको कालिकोटमा भव्य स्वागत गरिएको छ । रासकोट नगरपालिका वडा नम्बर २ निवासी खैरे सार्कीको गाउँमा यसरी भव्य सम्मान गरिएको हो ।

उनलाई गाउँलेले बाजागाजा बजाउँदै फूलमाला र अबिर लगाएर स्वागत गरेका थिए । प्रत्यक्षदर्शीहरुका अनुसार आफन्त र परिवारका सदस्यले पैसाको मालासँगै उनलाई टीका लगाइदिएका थिए । दुर्घटनामा बाँचेर घर फर्केको खुशीमा गाउँटोल घुमाएर चिउरा बाँडिएको थियो ।

गत आइतबार कालिकोटको पलाँता गाउँपालिकामा भएको जीप दुर्घटनामा सार्की घाइते भएका थिए । जीपमा सवार अन्य सात जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए ।