रविले रुपन्देहीमा देखाउन सकेनन् २ करोडको हिसाब, ६५ करोडको कसरी देखाउलान् ?

पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको हिरासत बसाइँ लम्बिँदै गएको छ ।

कास्कीपछि रूपन्देही प्रहरीका अधिकारीसमक्ष उनीमाथि केरकार चलिरहेको छ । विभिन्न सहकारीबाट गोरखा मिडियामा गएको रकमको हिसाब त जीबी राई लगायत अन्य अभियुक्तहरुबाट पनि खोजिँदै छ । रविले पनि सहकारीको रकम अपचलनमा आफू जिम्मेवार नभएको भन्दै उम्किन खोजिरहेका छन् । उनले सम्पूर्ण दोषभागी जीबी राई भन्न खोजिरहेका छन् । तर कतिपय कागजात यस्ता पनि छन् जसले रविलाई प्रत्यक्ष रुपमा सहकारीबाटै गैरकानुनी तवरले रकम अपचलन गरेकामा दोषी देखाइरहेका छन् ।

रुपन्देहीमा अहिले यस्तै एउटा हिसाब रविका लागि पेचिलो बन्दै गएको छ । आफू निर्दोष देखिन फरकफरक बयान र विवरण दिन खोज्दा रवि फस्दै गएका छन् । सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रूपन्देहीको भैरहवा पुर्‍याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बुधबार ९ घण्टाभन्दा बढी समय बयान लिइएको छ । यो उनीसँग लिइएको दोस्रो दिनको बयान हो । बिहीबार तेस्रो दिन पनि बयान निरन्तर रहने भएको छ । 

बिहान कार्यालय खुल्नासाथ १० बजे नै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा लगेर सरकारी वकिलकै रोहवरमा बयान लिन सुरू गरेको थियो । साँझ साढे ७ बजेपछि मात्र सरकारी वकिल कार्यालयबाट उनलाई प्रहरीले गाडीमा राखी हिरासततिर लगेको थियो । उनले दिएका केही जवाफ शंकास्पद र विरोधाभासपूर्ण भएकाले बयान लम्बिएको अनुसन्धान अधिकारीहरु बताउँछन् ।
 

सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि कात्तिक २ गते उनलाई काठमाडौँबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि उनलाई कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको थियो । सूर्यदर्शन सहकारीको बयान सकिएपछि उनलाई मंगलबार रुपन्देही लगिएको थियो । त्यसै दिन पनि दिउँसो १ बजेदेखि ५ बजेसम्म बयान लिइएको थियो । 

रवि आफू उम्किन खोज्दा आफ्नै बयानबाट फस्दै गएका छन् । उनले सुरूमा थाहा छैन भनेका कुरा पछि गएर अन्य सवालमा केही तथ्यहरू खुलाएका छन् । उनले सुरुमा सुप्रिमबाट २ करोड रुपैयाँ लिने रवि लामिछाने आफू नभएको जवाफ दिएका थिए । उक्त ऋण जारी गर्दा उल्लेख गरिएको ठेगाना पनि आफ्नो नभएको उनको जिकिर थियो । तर उक्त रकम रवि सम्बद्ध खातामा जम्मा भएको कागजात प्रहरीले प्रस्तुत गरी प्रश्न सोध्न थाल्यो अनि रवि अक्क न बक्क भएका छन् । त्यसपछि उनले आफ्ना नाममा कसैले नक्कली ऋण प्रवाह भयो भनेर उम्कने दाउ असफल भएको थाहा पाए । अनि उनले जीबी राईतिरै सोझ्याउन खोजे । यो सबै प्रपञ्च जीबी राईले मिलाएकाले आफूलाई केही थाहा नभएको बताए । 

अनि कम्पनीमा १५ प्रतिशत सेयर रहेको र प्रबन्ध निर्देशकको पदमा समेत बसेर सम्पूर्ण आर्थिक कारोबार गरेको व्यक्तिले थाहा छैन भनेर छुट पाउँछ र भन्ने प्रश्न उठ्यो । त्यस प्रश्नमा पनि रविले थाहा छैन भनेर नै टार्न खोजे । तर यति भनेर विषयवस्तु टारिनेवाला थिएन । अझ सुप्रिम सहकारीबाटै सवा १४ करोड रुपैयाँ रवि प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा प्रवाह भएको थियो । त्यसको समेत हिसाब उनको थाप्लोमा जाने निश्चितजस्तै छ । यसरी हिसाब गर्दै जाँदा गोरखा मिडियामा गएको ६५ करोड रुपैयाँकै जवाफदेही रवि समेत हुनेवाला देखिएको छ । 

हाल प्रहरीले गरिरहेको अनुसन्धान हेर्दा सहकारी ठगीसँगै संगठित अपराधमा जीबी राई र रवि लामिछाने नै मुख्य योजनाकारका रुपमा देखिएका छन् । उनीहरुले नै आम बचतकर्ताको रकम दुरुपयोग गर्न टीभी खोल्नेदेखि अरु विभिन्न संगठन र सञ्जाल बनाउने, आफूनिकटका व्यक्तिहरुलाई विभिन्न भूमिका दिएर परिचालन गर्ने गरेको पाइएको छ । यसै सहकारीको अनुसन्धानका सिलसिलामा रविको कोर टिमका सदस्य मानिने विपिन आचार्यसमेत तानिने भएका छन् । उनकी श्रीमती सुरक्षा अधिकारीविरुद्ध त पक्राउ पुर्जी नै जारी भइसकेको छ । रविको सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पनि विपिन सहजै तानिनेछन् । यसरी हेर्दा रविसँग उनको सम्पर्क सञ्जाल नै कानुनको कठघरामा उभिनुपर्ने अवस्था आउँदै छ ।