जनताका दुःख दूर गर्न मिलेर अगाडि बढ्नुपर्छ : उपप्रधानमन्त्री सिंह
काठमाडौँ, २८ कात्तिक : उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताका दुःख दर्द दुर गर्न सबै मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । वर्तमान सरकारले सोहीअनुरुप काम गरिरहेको उहाँले बताउनुभयो ।
प्राथमिकताका आधारमा जनताको पिरमर्का, सवाल र मुद्दा पहिचान गरी सम्बोधन गर्नेतर्फ सरकार अगाडि बढिरहेको उहाँको भनाइ छ । उहाँले आज गणेशमान चारनाथ नगरपालिका–६ स्थित गोदारमा आँखा उपचार केन्द्र उद्घाटन गर्नुभयो ।
उद्घाटनसँगै केन्द्रमा आँखा उपचार सेवा सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटीको गोदार–लवटोली उपशाखाले निर्माण गरेको केन्द्रबाट अधिकतम सेवा उपभोग गर्न सर्वसाधारणलाई उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “सेवा भावबाट खोलिएको उपचार केन्द्रमा मैले सक्दो सहयोग गर्छु ।”
यस्तै विकास निर्माणलाई गति दिन वर्तमान सरकारले राजनीतिक स्थिरता र स्थायित्वमा जोड दिइरहेको उहाँले बताउनुभयो । कोभिडपछि ठप्प आर्थिक गतिविधिलाई सरकारले लयमा ल्याउने काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।
राष्ट्रियसभा सदस्यसमेत रहनुभएका कांग्रेस नेता आनन्द ढुङ्गाना, प्रतिनिधिसभा सदस्य एवं जसपा नेपालका नेता दीपक कार्की र गणेशमान चारनाथ नगरपालिका प्रमुख जितनारायण यादवले गोदार–महिनाथपुर सडक सञ्चालन गर्न तत्काल चारनाथ खोलामा पुल बनाइदिएर पिता गणेशमानको सपना साकार गरिदिन उपप्रधानमन्त्री सिंहलाई ध्यानाकर्षण गराउनुभयो । उहाँहरुले मधेसमा सिँचाइको उचित व्यवस्था गरिदिन पनि आग्रह गर्नुभयो ।
नगर प्रमुख यादवले प्रकाशमान सिंह स्थानीय विकासमन्त्री रहेकै बेला उहाँका पिता सर्वमान्य नेता गणेशमान सिंहको नाउँले नगरपालिकाको नामाकरण भएको स्मरण गराउँदै उक्त पालिकाको समग्र विकासमा अभिभावकत्व ग्रहण गर्न आग्रह गर्नुभएको थियो ।
प्रतिक्रिया