देउती मन्दिरमा मन्दिरका पुजारीकी पत्नी मृत फेला
सुर्खेतको वीरेन्द्रनगरमा रहेको गंगामाला देउती मन्दिरमा आज बिहान एक महिला मृत फेला परेकी छन्। ती महिला सोही मन्दिरका पुजारीकी पत्नी भएको प्रहरीले जनाएको छ।
गंगामाला देउती बज्यै मन्दिर कर्णाली प्रदेशकै पर्यटकीय तथा धार्मिक स्थलको रुपमा परिचित छ। वीरेन्द्रनगर नगरपालिका- ११ बस्ने रुद्रबहादुर राजीकी श्रीमति अन्दाजी वर्ष ५० की सरस्वती राजी मन्दिर परिसरमा फेला परेकी जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक अजय डाँगीले जानकारी दिए। रुद्रबहादुर सोही मन्दिरमा पुजारी छन्।
मन्दिरको मुल गेटको भित्रपट्टि रहेको फलामको ढोकामा झुण्डिएको अवस्थामा महिलाको शव फेला परेको जिल्ला प्रहरी कायालय सुर्खेतका प्रमुख एसपी रुपेश खड्काले बताए।
‘म बिहान साढे ५ बजेदेखि घटनास्थलमै छु। घटनाको जानकारी बिहान ५ बजेतिर प्रहरीलाई आएको थियाो। घटनाको प्रकृति हेर्दा शंकास्पद छैन,’ एसपी खड्काले भने, ‘बाँकी अनुसन्धान हुँदैछ। अनुसन्धानबाट घटनाको बारेमा थप जानकारी आउला।’
एसपी खड्काका अनुसार सरस्वती मन्दिरको पुजारीसमेत रहेको खुलेको छ। विगतदेखि नै देउती बज्यै मन्दिरको पुजारी राजी समुदायबाट हुँदै आएका छन्।
प्रतिक्रिया