मर्दी हिमाल आरोहणका क्रममा खसेका गाइडको शव २०० मिटर तलको खोचबाट निकालियाे
मर्दी हिमाल आरोहणका क्रममा खसेका गाइड लालबहादुर तामाङको शव २०० मिटर तलको खोचबाट निकालिएको छ।
खोजबिनका लागि गएको उद्धार टोलीले तामाङको शवलाई भिरको खोंचबाट समथर ठाउँमा ल्याएको माछापुच्छ्रे गाउँपालिका-९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले बताए। कात्तिक २५ गते मर्दी हिमाल आरोहणमा नर्वेका आरोहीलाई लिएर गएका ६२ वर्षीय तामाङ लडेका थिए।
हेलिकोप्टरबाट रेकी गर्दा मंगलबार बिहान शव भएको स्थान पत्ता लागेको थियो। त्यसपछि उद्धार टोली खटिएको हो। लाक्पा छिरिङ शेर्पा, छिरिङ लामा भोटे र पासाङ शेर्पाको टोलीले पाँच हजार ३०० मिटरबाट करीब ७०० मिटर तल भिरको खोंचमा रहेको शवलाई निकालेको हो। उनीहरूले खोंचबाट २०० मिटरमाथि समथर स्थानमा ल्याएर शव सुरक्षित राखेका छन्।
खोज तथा उद्धार टोलीका अनुसार त्यहाँबाट हेलिकोप्टरको सहायताले नै शवलाई ल्याउनुपर्ने अवस्था छ। उद्धार टोली पनि हेलिकोप्टरको माध्यमबाट माथिल्लो आधारशिविरसम्म पुगेर डोरीको सहायताले तीन घण्टा लगाएर त्यो स्थानमा पुगेको थियो।
उद्धारमा खटिएको टोली र हाईक्याम्पमा रहेको सम्पर्क टोलीबीचको सम्पर्क टुटेका कारण मंगलबार तनावमै बितेको थियो। तीन जनाको उद्धार टोली मंगलबार राति ११ बजे मात्र हाईक्याम्प आइपुगेपछि शव निकालिएको खबर मिलेको हो।
माछापुच्छ्रे गाउँपालिका-९ का वडाध्यक्ष क्षेत्रीका अनुसार शवलाई बुधबार हेलिकोप्टरमार्फत ल्याउने तयारी गरिएको छ।
प्रतिक्रिया