नेपाली यू-१९ टोलीले कर्नाटकसँग पाँच खेलको अभ्यास ओडिआई शृंखला खेल्ने
नेपाली यू-१९ टोलीले घरेलु मैदानमा कर्नाटकसँग ओडिआई शृंखला खेल्ने भएको छ ।
नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म संयुक्त अरब इमिरेट्स (युएई) मा हुने यू-१९ एसिया कपको तयारीस्वरूप नेपालले कर्नाटकसँग पाँच खेलको अभ्यास ओडिआई शृंखला खेल्न लागेको हो । शृंखला आज (बुधबार)देखि माथिल्लो मूलपानी मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानका अनुसार बुधबार पहिलो खेल हुनेछ । यस्तो, दोस्रो खेल शुक्रबार र तेस्रो आइतबार हुनेछ । मंगलबार चौथो र बुधबार अन्तिम खेल हुने क्यानले जनाएको छ ।
यू-१९ एसिया कप मंसिर १४ देखि युएईमा सुरु हुँदैछ । एसिया कपमा नेपालले समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । नेपालले आफ्नो पहिलो खेल मंसिर १४ मा श्रीलंकासँग खेल्ने कार्यक्रम छ । एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र जापान छन् ।
नेपाली टोलीको प्रशिक्षकमा शक्ति गौचन हुनुहुन्छ । यसअघि कपका लागि नेपालले हेमन्त धामीको कप्तानीमा राष्ट्रिय टोली घोषणा गरिसकेको छ । टोलीमा हेमन्त धामीसँगै अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम रंगु थापामगर, मयन यादव, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिलसाद अली र रञ्जित कुमार हुनुहुन्छ ।
नेपालले मंसिर १४ मा श्रीलंकासँग खेलेपछि दोस्रो खेल मंसिर १६ मा बंगलादेशसँग र तेस्रो खेल मंसिर १८ मा अफगानिस्तानसँग खेल्नेछ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । सेमिफाइनल खेल मंसिर २१ र फाइनल २३ गते हुनेछ ।
प्रतिक्रिया