कांग्रेस र एमालेले तिहारको छेको पारेर गठन गरेको दुई दलीय संयन्त्रको पहिलो निर्णयमा प्रश्न
सरकार सञ्चालन गर्न सहजीकरण गर्न भन्दै सत्तारुढ दल कांग्रेस र एमालेले तिहारको छेको पारेर गठन गरेको दुई दलीय संयन्त्रको पहिलो बैठककै निर्णयमा प्रश्न उठेको छ ।
कात्तिक २१ गते बसेको संयन्त्रको पहिलो बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको संयोजन प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले गर्ने निर्णय गरेको थियो ।
संयन्त्रको यो निर्णयलाई परराष्ट्रमा दलीय संयन्त्र हाबी भएको तथा संयन्त्रलाई सरकारभन्दा माथि ठानिएको भन्दै आलोचना भइरहेको छ ।
सत्तारुढ दलका नेताहरूले भने संयन्त्र गठन गरेसँगै गत असार १७ गते मध्यराति नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको सात बुँदे सहमति अनुसार सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न र संविधान संशोधन गर्न गृहकार्य थाल्ने बताएका छन् ।
सात बुँदे सहमतिको जगमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको चार महिनापछि सत्तारुढ दुई दलले सरकारको प्रभावकारिता र संविधान संशोधनबारे चासो देखाउँदै गृहकार्य थाल्ने बताएका हुन् ।
प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति देउवाको नेतृत्वमा गठित कार्यदल संयन्त्रमा कांग्रेसका तर्फबाट ४ र नेकपा एमालेका तर्फबाट ४ जना प्रभावशाली नेता सदस्य छन् ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा संयन्त्रमा छन् । यस्तै, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन् । संयन्त्रलाई प्रदेश र जिल्लासम्म विस्तार गर्ने उनीहरूको तयारी छ
प्रतिक्रिया