पर्यटन मन्त्री पाण्डेले करोड घुस लिएका हुन्? प्रतिपक्षले बनाउन सक्छ मुद्दा

कांग्रेस र एमाले गठबन्धनको सरकार छ। कांग्रेस नेता बद्री पाण्डे पर्यटन तथा नागरिक उड्डयनमन्त्री छन्। तर, कांग्रेसकै सांसद राजेन्द्र बजगाईँले पाण्डेमाथि गम्भीर आरोप लगाएका छन्। पर्यटन व्यवसायीसमेत रहेका गोरखा १ बाट निर्वाचित सांसद बजगाईँले भैरहवास्थित रोयल टाइगर रिक्रियसन प्रालिलाई क्यासिनो सञ्चालन इजाजतपत्र दिँदा मन्त्री पाण्डेले एक करोड घुस खाएको आरोप लगाएपछि राजनीतिक बजार गर्माएको छ। त्यति मात्र होइन पाण्डेले घुसको पैसाबाट घरसमेत किनेको जिकिर गरेका छन्। 
 

बजगाईँले क्यासिनो सञ्चालन अनुमतिपत्र सार्वजनिक गरेका छन्।  ‘एक क्यासिनो सञ्चालकले हामीहरूलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड करोड रकम दिएको पुष्टि गरे । मन्त्रीले कांग्रेस नेताको घरमा पैसा पठाउन निर्देशन गर्‍यो । उपरोक्त नेताले त्यो पैसा फिर्ता पठायो । मन्त्री भ्रष्ट क्यान कर्मचारी हटाउन चाहन्थेँ सभापति र उहाँको परिवारले दिएनन् भन्दै हिँड्छ । यो झुट हो किनभने सभापति ,गृह ,परराष्ट्रमन्त्री आफैँ क्यान छुट्याउने विषयमा प्रधानमन्त्रीलाई ब्रिफिङ गर्दै गर्दा १५ सांसद साक्षी छौं,’ बजगाईँले भनेका छन्। 

हुन् त टाइगर प्यालेस होटल विवादमा छ। सार्वजनिक जग्गा मिचेर बनाएको होटलको विक्री तथा हक हस्तान्तरण नगरी यथास्थितिमा राख्न अदालतले आदेश दिएको छ।  

मन्त्री  पाण्डेले पनि बजगाईँलाई जवाफ दिएका छन्।  काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पाण्डेले स्वार्थ समूहहरूकै कारण आफूमाथि पनि करोडौं घुस खाएको अफवाह फैलाएको बताए।  ‘पहिले राजनीतिक व्यक्तिहरू शक्तिशाली हुनुहुन्थ्यो, अहिले स्वार्थ समूहहरू शक्तिशाली भएको मैले देखिराखेको छु । स्वार्थ समूहका मतियारहरू, बिचौलियाहरू बलिया भएको देखिरहेको छु । मैले ३–४ महिनाको यो कामको अनुभवमा निष्ठापूर्वक काम गरिरहँदा केही स्वार्थ समूहका मतियारहरूले मलाई मानमर्दन गर्नेगरी, मेरो मनोबल र आत्मविश्वासलाई गिराउने गरी केही प्रचारबाजी गरेको देखेको छु,’ उनले भने। उनले आफूले कुनै नाममा घुस नखाएको भन्दै पशुपतिनाथको अगाडि उभिएर कसम खानसक्ने बताए। सो होटलको क्यासिनोले रोयल्टी नबुझाएपछि तत्कालीन मन्त्री प्रेम आलेले बन्द गराएका थिए । रोयल्टी नतिरी विदेश भाग्न लागेका क्यासिनो सन्चालक माइक बोल्सेभरलाई विमानस्थलबाट फर्काएर रोयल्टी तिराइएको थियो ।

हुन् त बजगाईँ र मन्त्री पाण्डेबीचको विवाद नयाँ होइन। गोरखाबाट निर्वाचित बजगाईँ पार्टी सभापति शेरबहादुर देउवा गुठका हुन् भने पाण्डे शेखर, गगन समूहबाट सहमहामन्त्री छन् । उनी बाजुराबाट निर्वाचित सांसद हुन्। हवाई टिकटको भाउ चर्काे भएपछि बजगाईँले माइतीघरमा प्रदर्शन समेत गरेका थिए।  

क्यासिनोको लाइसेन्समा घुस लेनदेनको आरोप लागेपछि अब पाण्डेमाथि छानबिनको माग उठेको छ। बाजुराबाट एमाले कर्ण थापाले उनीमाथि न्यायिक छानबिनको माग गरेका छन्। तर, अब यो विषय प्रतिपक्षको मुख्य मुद्दा बन्न सक्ने देखिन्छ। सहकारी ठगीमा रवि लामिछाने पक्राउ परेपछि विरोध गर्दै आएको रास्वपाले सरकारको विरोधका लागि ठोस मुद्दा पाएको छैन। माओवादी पनि सरकारको विरोध गर्दै आए पनि रविको समर्थनमा उत्रिन सकेको छैन। तर, अब पाण्डेमाथि राजीनामा दबाब बढ्न सक्छ।