बबरमहलमा धर्ना दिइरहेका व्यक्तिहरूसँग हाम्राे कुनै सरोकार छैन् : नेपाल टेलिकम

हाम्राे

नेपाल टेलिकमले बबरमहलस्थित दूरसञ्चार तालिम तथा अनुसन्धान केन्द्र बाहिर धर्ना दिइरहेका व्यक्तिहरूसँग आफ्नो कुनै सरोकार बताएको छ । कात्तिक १२ देखि केही व्यक्तिले केन्द्र बाहिर दिएको धर्नाले सर्वसाधारण र सञ्चारमाध्यममा केही भ्रम उत्पन्न भएको भन्दै टेलिकमले प्रष्टीकरण जारी गरेको छ ।

टेलिकममा लामो समयदेखि सरसफाइमा कार्यरत जनशक्तिहरूलाई राजनीतिक आस्थाका आधारमा निकालिएको भन्दै एक समूहले धर्ना दिँदै आएको छ । आफूहरुलाई बिनासूचना र सेवासुविधा कामबाट हटाएको भन्दै निष्कासित कर्मचारीले कात्तिक १४ गतेबाट बबरमहलस्थित टेलिकमको कार्यालयमा धर्ना बसेका छन् । धर्नाका क्रममा प्रहरीले हस्तक्षेप गरेकोसमेत उनीहरूको आरोप छ ।

यसैबीच नेपाल टेलिकमले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै धर्नामा बसेका व्यक्तिहरूसँग कुनै सरोकार नभएको बताएको छ । ‍टेलिकमका अनुसार सेवा विस्तार, मर्मतसम्भार, सुरक्षा र सरसफाइका लागि आवश्यक पर्ने जनशक्ति बोलपत्र प्रक्रिया मार्फत् आउटसोर्सिङ विधिबाट निश्चित अवधि र कानुनी प्रक्रियाअनुसार निजी सेवा प्रदायकहरूसँग सम्झौता गरी लिइन्छ । यो सम्झौतासँगै तोकिएको कार्य अवधि समाप्त भएपछि सोही सेवा प्रदायकसँगको दायित्व पनि स्वतः अन्त्य हुने व्यवस्था रहेको छ ।

हाल टेलिकमले बबरमहलस्थित कार्यालयको सरसफाइ कार्यका लागि नयाँ सेवा प्रदायक कम्पनीलाई जिम्मा दिएको छ, जसले प्रतिस्पर्धाका आधारमा सेवा प्राप्त गरेको कम्पनीको भनाइ छ । पूर्व सेवाप्रदायक कम्पनीसँग सम्बन्धित केही जनशक्तिले कम्पनीको प्राङ्गण बाहिर धर्ना दिएको र यसबाट नयाँ सेवा प्रदायक कम्पनीका जनशक्तिहरूलाई कार्यमा अवरोध सिर्जना गरेको टेलिकमले उल्लेख गरेको छ । 

टेलिकमले यस घटनासँग आफ्नो कुनै सरोकार नभएको बताउँदै पूर्व सेवाप्रदायकका जनशक्तिलाई अवरोध नगर्न आग्रह गरेको छ । टेलिकमले आफ्नो सेवा नियमित रूपमा सञ्चालन गर्दै आएको र ग्राहक सेवामा कुनै अवरोध नहुने जानकारी दिएको छ ।