काठमाडौं महानगरले गर्ने खेलकुद प्रशिक्षणमा ११ हजार विद्यार्थीको आवेदन
काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये विभिन्न खेल प्रशिक्षणमा इच्छा व्यक्त गर्ने १० हजार ९९५ जनाबाट छनोट प्रक्रिया अगाडि बढाएको छ । यसक्रममा सोमबार विद्यालय निरीक्षक, स्रोत शिक्षक, प्रधानाध्यापक, खेल शिक्षकहरूका लागि कार्य सञ्चालन योजनाका विषयमा अभिमुखीकरण गरिएको छ ।
स्वर्णिम योजना ‘रचनात्मक विद्यालय’ अन्तर्गत कक्षा ४ देखि १२ सम्मका विद्यार्थीका लागि प्रशिक्षण सञ्चालन गर्न लागिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । शहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलका अनुसार १६ वटा खेल विधामध्ये सबैभन्दा धेरै फुटबलमा २ हजार ३८ जनाले सहभागी हुन इच्छा व्यक्त गरेका छन् । फुटबलपछि ब्याडमिन्टन (१,२४७ जना), भलिबल (१,२४७ जना), क्रिकेटमा (९६० जना), तेक्वान्दोमा (९२५ जना) विद्यार्थीले रूचि देखाएका छन् ।
बास्केटबलमा (८,९९ जना), कराँते (८९३ जना), कवड्डी (६९० जना), एथलेटिक्स (५४९ जना), बक्सिङ् (४७१ जना), चेस (३४६ जना), टेबुलटेनिस (२७८ जना), खोखो (२४५ जना), हक्कीमा (१४९ जना), उसु (६६ जना) र जुडोमा (४० जना) जना विद्यार्थीको रूचि छ ।
पोखरेलकाअनुसार प्रारम्भिक अवस्थामा १७ वटा विधाका खेलमा विद्यार्थीको रूचि बुझ्दा १२ हजार १२१ जना विद्यार्थी आवेदनमार्फत इच्छा व्यक्त गरेका थिए । यसमा रहेको पौडी खेललाई जाडो मौसमका कारण अहिले हटाइएको छ । यसको सट्टा विद्यार्थीको रूचिका आधारमा एउटा विधा खेल थप्ने योजना रहेको पोखरेलको भनाइ छ ।
शिक्षा अधिकृत केशव ज्ञवालीकाअनुसार १८ वटा केन्द्रबाट कात्तिक मसान्तभित्र छनोट प्रक्रिया सम्पन्न हुनेछ । यसबाट छानिएका विद्यार्थीहरूलाई मंसिर १ गतेदेखि तालिम दिइनेछ । छनोट र तालिम सामुदायिक विद्यालयका विद्यार्थीबीच हुनेछ ।
मंसिर, पुस र माघ गरी करिब ३ महिना जुनियर छात्र र जुनियर छात्रा तथा सिनियर छात्रा र सिनियर छात्र गरी ४ समूहमा तालिम सञ्चालन हुनेछ । जुनियरमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीलाई र सिनियरमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई सहभागी गराइनेछ ।
कक्षा १० का विद्यार्थीलाई भने खेलमा भन्दा एसईईको तयारीमा प्रोत्साहन गरिनेछ । खेलका तालिम चलाउन नियमित कक्षा अगाडि-पछाडी, विदाका दिन तथा लामो छुट्टीको अवधिलाई उपयोग गरिनेछ । यसपछि माघको अन्तिम सातातिर संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीका बीचमा प्रतियोगिता आयोजना गरिनेछ ।
यसरी आयोजना हुने प्रतियोगितालाई अन्तर्राष्ट्रिय मापन पद्धतिअनुसार सञ्चालन गरिनेछ । यसमा हार र जितभन्दा पनि खेल क्षेत्रको प्रवर्द्धन मानकहरूलाई नतिजा प्राप्तिको सूचक बनाइनेछ ।
खेलका लागि शहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाको अध्यक्षतामा ९ सदस्यीय निर्देशक समिति गठन भइसकेको छ ।
प्रतिक्रिया