मानव बेचबिखनमा मुछिएका कोशीका निवर्तमान मन्त्री अधिकारी पक्राउ

कोशी प्रदेशका पूर्व मन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन्।

मानव तस्करीको आरोप लागेका अधिकारीलाई आइतबार विराटनगरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले बताइन्। विराटनगरस्थित निवासबाटै पक्राउ परेका उनलाई काठमाडौं ल्याउन लागिएको बज्राचार्यले जानकारी दिइन्।

अधिकारी कात्तिक १३ गते अन्य तीन जना सहित जापान गएका थिए। तर, जापानले उनीहरूलाई विमानस्थलबाटै फिर्ता पठाएको थियो। उनीसँगै फिर्ता आएका तीन जनालाई यसअघि नै प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

मानव तस्करीको आरोप लागेपछि अधिकारीले कोशीको आन्तरिक मामिला तथा कानूनमन्त्रीबाट राजीनामा दिएका थिए। त्यस्तै, नेकपा (एमाले) कोशी प्रदेश कमिटीले कात्तिक २४ मा उनलाई संगठित सदस्यबाट पनि निलम्बित गरेको थियो।

उनी कोशी प्रदेश सभा सदस्य हुन्। २०७९ सालको मोरङ २ ‘ख’बाट निर्वाचित भएका थिए।