न्यायाधीशदाहालको इजलासमा बिदासहित लामिछानेलाई थप २५ दिन म्याद थप गर्न प्रस्ताव

काठमाडौँ, २५ कात्तिक : सहकारी ठगीको अनुसन्धानका लागि पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राख्न सरकारी वकिलले माग गरेका छन् ।

कास्की जिल्ला अदालत पोखरामा आइतबार न्यायाधीश नवराज दाहालको इजलासमा सरकारी वकिलले बिदासहित थप २५ दिन म्याद थप गर्न प्रस्ताव गरेका हुन् ।

सरकारी वकिल कार्यालयको तर्फबाट कमला काफ्ले बहस गरेकी हुन् । यसअघि तेस्रोपटक थपिएको म्याद कात्तिक २४ गते सकिएको थियो ।

लामिछाने कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका उनलाई त्यही राति पोखरा पुर्‍याइएको थियो। 

पोखराको सूर्यदर्शन सहकारीको पैसा गोरखा मिडियामा लगेर हिनामिना गरेको आरोपमा उनीविरुद्ध प्रहरीले छानबिन गरिरहेको छ ।गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेविरुद्ध कास्की प्रहरीले विभिन्न ४ अभियोगमा अनुसन्धान गरिरहेको छ । 

ठगी, कीर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा रविसँग भटाभट बयान लिने काम भइरहेको छ । 

पाँचवटा सहकारीहरू क्रमशः सूर्यदर्शन, स्वर्णलक्ष्मी, सानोपाइला, सहारा र सुप्रिमबाट गोरखा मिडियामा गएको ६५ करोड ५४ लाख रुपैयाँ गएको र उक्त रकम अपचलनमा रविको संलग्नता रहेको भन्दै अनुसन्धान भइरहेको हो ।

सहकारीको रकम गोरखा मिडियामा ल्याएर अपचलन गर्नेमध्ये रविका ‘पार्टनर’ एवं गोरखा मिडियाका अध्यक्ष जीबी राई फरार छन् । अर्का सञ्चालक छविलाल जोशी बञ्जाडेलाई पनि हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि रविलाई ९० दिनसम्म हिरासतमा राख्ने तयारी प्रहरीको छ ।