लामिछानेलाई अदालत पुर्याइयो

काठमाडौँ, २५ कात्तिकः  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालत पेस गरिएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा अनुसन्धानको दायरामा तानिएका उनलाई चौथोपटक म्याद थप्नका लागि कास्कि जिल्ला अदालत लगिएको हो ।

रवि लामिछाने पछिल्लो एक महिनायता कास्कि प्रहरीको हिरासतमा छन् । उनले तिहार समेत हिरासतमै काटेका थिए । अनुसन्धानको प्रक्रिया नसकिएपछि उनलाई अदालतले पटक पटक म्याद थप गरेर अनुसन्धानमा राख्न स्वीकृति दिइरहेको छ ।

पोखराको सहकारी ठगि प्रकरण सकिएलगत्तै लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको रकम अपचलनमा पक्राउ गर्ने तयारी प्रहरीको छ । आज लामिछानेसहित पूर्व डिआईजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई समेत अदालत पेस गरिएको छ ।